गुण्डागर्दी र अपराधको दुनियाँमा चर्चित दुई डन कांग्रेस केन्द्रीय सदस्यमा भिड्दै

गुण्डागर्दी र अपराधको दुनियाँमा चर्चित दुई डन कांग्रेस केन्द्रीय सदस्यमा भिड्दै

गुण्डागर्दी र अपराधको दुनियाँमा चर्चित भएर जेलनेल भोगेपछि राजनीतिमा लागेका दुई ‘बाहुबली नेता’ कांग्रेसको केन्द्रीय सदस्य उम्मेदवार बनेका छन् । जीवनभर कांग्रेसको निष्ठाको राजनीति गरेका रामचन्द्र पौडेल अस्वस्थ प्रतिस्पर्धा भयो भनेर बाहिरिँदै गर्दा गुण्डा नाइकेको उपाधी पाएका गणेश लामा र राजु गोर्खाली भने कांग्रेस नेतृत्वका लागि भिडेका छन् ।

कांग्रेसको ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा राजु गोर्खाली र गणेश लामा क्रम ७६ नम्बर र १०२ नम्बरको उम्मेदवार भएका छन् । उनीहरू दुवैजना सभापति उम्मेदवारको प्यानलमा पर्ने प्रयासमा छन् । राजेन्द्रबहादुर गोर्खाली उर्फ राजु गोर्खाली ५० को दशकमा गुण्डागर्दी र अपराधको दुनियाँका चर्चित हस्ती थिए । २०५९ सालमा उनले रोयल डिस्को दरवारमार्गमा राजन लिम्बुलाई तरबार हानेर हत्या गरेपछि १० वर्ष जेल सजाय पनि भोगे ।

जेलबाटै उनले अपराधको दुनियाँ चलाउँथे । पछिल्लोपटक २०७६ माघमा अपराध महाशाखाले विभिन्न व्यक्तिलाई धम्की दिएर पैसा असुल गरेको आरोपमा पक्राउ गरी उनीविरुद्ध आपराधिक ठगी तथा संगठित अपराधअन्तर्गत मुद्दा चलाएको थियो ।गोर्खा घर भएका गोर्खाली काठमाडौंको चाबहिल क्षेत्रलाई आफ्नो आधार इलाका बनाएर गुण्डागर्दी थालेका थिए । पछि उनी काठमाडौंकै महसुर डन बने । तर, महाधिवेशन प्रतिनिधि भने उनी सिन्धुपाल्चोकबाट बनेका छन् ।

गोर्खा घर र काठमाडौं कार्यथलो भएका गोर्खाली ईन्द्रावती गाउँपालिकाको भोटशिपाबाट क्रियाशील सदस्य लिएको पाइएको छ । कांग्रेस सहमहामन्त्रीका उम्मेदवार विकास लामाको वडाबाट उनले सदस्यता लिएर ३० लाखभन्दा बढी नगद खर्च गरी चौथो लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधि जितेको सिन्धुका कांग्रेसहरू बताउँछन् । उनी डा शेखर कोइरालाको प्यानलमा पर्न खोजिरहेका छन् । तर, उनी विगतमा शेरवहादुर देउवा निकट थिए । अर्का बाहुबली गणेश लामा देउवाको प्यानलबाट पर्ने भएपछि गोर्खाली अर्को प्यानलमा पर्न प्रयासरत रहेका छन् ।

अपराधको दुनियाँका चर्चित डन गणेश लामा भने यसअघि काभ्रेबाट कांग्रेसको उम्मेदवार भइ प्रदेशसभा सदस्य निर्वाचनमा पराजित भएका थिए । उनीविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतका मुद्दा चलिरहेका छन् ।हत्या, अपहरण, फिरौतीलगायतका मुद्दामा पटक-पटक जेल परेका लामामाथि अर्को गुण्डा समूहले दुई वर्षअघि गौशालामा गोली हाने पनि उनी बाँच्न सफल भएका थिए ।