कांग्रेस महाधिवेशन: दुई महामन्त्रीका लागि ६ जना प्रतिष्पर्धामा, कसको सम्भावना कति ?

कांग्रेस महाधिवेशन: दुई महामन्त्रीका लागि ६ जना प्रतिष्पर्धामा, कसको सम्भावना कति ?

काठमाडाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा युवा नेताहरुको कडा प्रतिस्पर्धा हुने देखिएको छ। विधानअनुसार २ महामन्त्री निर्वाचित हुनेमा यस पदका लागि ६ जनाको उम्मेद्वारी परेको छ। दोस्रोपटक सभापतिका लागि उम्मेद्वारी दिएका प्रधानमन्त्री शेरबहादुर देउवा टिमबाट डा प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीका उम्मेद्वार हुन्।

डा शेखर कोइराला नेतृत्वको टिमबाट रक्षामन्त्री डा मीनेन्द्र रिजाल र गगन थापा महामन्त्रीमा भिड्दैछन्। यसैगरी, प्रकाशमान सिंह टिमबाट विश्वप्रकाश शर्माले महामन्त्रीमा टक्कर दिँदैछन्। त्यस्तै विमलेन्द्र निधीको प्यानलबाट राजाराम कार्कीले महामन्त्रीमा उम्मेदवारी दिएका छन्। 

देउवा टिमबाट महामन्त्रीमा दाबी गर्ने विश्वप्रकाशसहित दर्जन थिए। बालकृष्ण खाण, एनपी साउद, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र डा प्रकाशशरण महत पनि यो लाइनमा थिए। अन्तिममा बाजी मारे महतले। महत देउवा प्यानलबाट बलिया उम्मेद्वार हुन् महामन्त्रीका। संस्थापनइतरको भागमा परेको सहमहामन्त्री पद पाएका महत देउवालाई साथ दिँदै बलिया बने। यद्यपि, उनीमाथि पनि असन्तुष्टिका भारीहरु धेरै रहेको महाधिवेशन प्रतिनिधिहरुकै आरोप छ। यद्यपि, देउवाको प्यानलबाट भोट क्रस नभए उनको जित सुनिश्चित हुने बताइन्छ।

देउवाले महामन्त्रीको एक पद संस्थापनइतरको लागि खाली राखेका थिए। त्यसमा अटाए कृष्णप्रसाद सिटौला समूहका प्रदीप पौडेल। सिटौलाले आफूलाई साथ दिनेलाई अघि बढाउने उद्घोष उद्घाटन मञ्चमै गरे। पूर्व महामन्त्री तीन जना मञ्चमा हुँदा उद्घाटनमा सिटौलालाई मात्र बोल्न दिइएको थियो। प्रकाशमान र तारानाथ रानाभाटलाई बोल्न दिइएन। यही मौकामा सिटौलाले गगन थापामाथि प्रहार गर्न भ्याएका थिए। सिटौला टिमबाट महामन्त्रीको टिकट पाएका पौडेललाई धेरैले जुनियर नेता भएको तर्क गर्छन्। यद्दपी प्यानल बलियो भएकोले उनले महामनत्रीमा बाजी मार्ने सम्भावना बलियो छ ।