काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनालीले पटक पटक लडेर व्यवस्था फेरिए पनि जनताको अवस्था उस्तै भएको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै महासचिव मैनालीले भने, ‘हामीले २००७ सालदेखि लड्दै आयौं, २०४६ सालमा लड्यौं, त्यसपछि फेरि पनि लड्यौं’ उनले थपे, ‘हामीले पटक पटिक लड्यौं तर बाह्य हस्तक्षेप पनि पटक पटक भयो, हामीले त्यतातिर ध्यान दिन सकेनौं ।’
पटक पटक लड्दै ल्याएको व्यवस्थामा पनि नेपाली जनताको अवस्था किन उही भन्ने हाम्रो सामु ठूलो प्रश्न भएको उनले उल्लेख गरे ।
उनले राजनीतिक परिवर्तनका लागि सबै दल लड्दै आएको भएप्नि जनता र देशको परिवर्तनमा खासै कसैको ध्यान पुग्न नसकेको जिकिर गरे । अब सबै दलले एकजुट भएर लाग्नुपर्ने उनको भनाइ छ ।
संसद् र सरकार प्रभावशाली नभएको भन्दै उनले भने, ‘राती संसद विघटन हुन्छ, अध्यादेशबाट सरकार चलाइन्छ ।’ उनले यस्तो व्यवस्थाले मुलुकको विकास नहुने बताए ।