काठमाडाैं । रक्षामन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता डा। मीनेन्द्र रिजालले आज सुरु हुने पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। हात्तिसारमा आज बिहान पत्रकार सम्मेलन गरेर रिजालले उम्मेदवारी दिने घोषणा गरेका हुन्।
यस क्रममा उनले संस्थापन इतर समूहबाट सभापति पदमा एउटा मात्र उम्मेदवार बनाउने प्रयास आज पनि जारी रहने जानकारी पनि दिए। ‘हिजो राति १२ बजेसम्म प्रयास गर्दा पनि एक उम्मेदवार बनाउँछौं भन्ने मेरो विश्वास फलिभूत हुन सकेको छैन’, पत्रकार सम्मेलनमा रिजालले भने, ‘महाधिवेशनपछि देउवा निवर्तमान सभापति। संसदीय दलको नेता उहाँ नै हो। प्रधानमन्त्री भइरहनु हुन्छ।’
सरकार संक्रमणकालीन भइसकेको मुलुक अब चाँडै चुनावमा जाने उल्लेख गर्दै रक्षामन्त्री रिजालले कांग्रेसले पुरानै नेतृत्व राखेर बहुमत ल्याउन नसक्ने टिप्पणी पनि गरे।