कांग्रेस महाधिवेशन : नेतृत्व चयनका लागि २७ गते मतदान

कांग्रेस महाधिवेशन : नेतृत्व चयनका लागि २७ गते मतदान

काठमाडौं । नेपाली कांग्रेसको नजिकिएको १४ महाधिवेशनसँगै नेतृत्वका लागि दौडधुप निकै बाक्लिएको छ । यस्तैमा निर्वाचन समितिले भने महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार नेतृत्व चयनका लागि मंसिर २७ गते मतदान हुने भएको छ । 

सार्वजनिक तालिका अनुसार मंसिर २४ गते बिहान १० बजे महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन हुनेछ । त्यस्तै मंसिर २५ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने दावी विरोधका लागि सोही दिन साँझ ७ देखि ९ बजेसम्मको समय छुट्याइएको छ । 

सोही राति ९ देखि १२ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन हुनेछ । मनोनयनपत्र फिर्ताका लागि मंसिर २६ गते बिहान ११ बजेसम्मका लागि समय तोकिएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि मंसिर २७ गते बिहान ८ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ । 

मतदान सम्पन्न भएपछि सभापति पदको मतगणना राष्ट्रिय सभागृह भृकुटीमण्डपमा हुनेछ । सभापतिको लागि दोस्रो चरणको निर्वाचन गर्नुपर्ने अवस्था आएमा पनि सोही स्थानमा निर्वाचन हुनेछ। 

अन्य पदाधिकारीको मतगणना भने उम्मेद्वारका प्रतिनिधिको रोहबरमा पार्टी कार्यालय सानेपामा हुनेछ।