काँग्रेस महाधिवेशन : २ महामन्त्रीका लागि १२ जनाको दाबी

काँग्रेस महाधिवेशन : २ महामन्त्रीका लागि १२ जनाको दाबी

काठमाडौं । दुई दिनपछि अर्थात मंसिर २४ गते उद्घाटन हुन लागेको नेपाली काँग्रेसको १४ महाधिवेशनले पाँच वर्षका लागि केन्द्रीय नेतृत्व छान्नेछ ।

नजिकिएको महाधिवेशनसँगै पदाधिकारी तथा केन्द्रीय सदस्यको आकांक्षीहरु पनि बढ्दै गएका छन् । उनीहरुले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । 

महाधिवेशनबाट १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १३ पदाधिकारीसहित १६५ जना केन्द्रीय सदस्य निर्वाचित हुँदैछन् । यसका लागि पार्टीलेउ झण्डै ४५ सय महाधिवेशन प्रतिनिधिहरु छानेको छ । 

नेपाली कांग्रेसमा काँग्रेस शेरबहादुर देउवा समुह, वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र कृष्ण सिटौला समूहसहित तीन भागमा बाँडिएका छन् । यद्यपी कुनै समूहले पनि आफ्नो प्यानल भने बनाइसकेको छैन । तर आन्तरिक दौडधूप भने निकै बनेको स्रोतले जनाएको छ । 

पार्टीमा सभापति र उपसभापति पछिको शक्तिशाली मानिने महामन्त्री पदका लागि भने बेजोड भीडन्त हुने देखिएको छ ।

पार्टीमा दुई महामन्त्रीका लागि १२ जनाको दावेदारी रहेको छ । संस्थापन पक्षका ६ र इतर पक्षका ५ र सिटौला समूहबाट १ जनासहित १२ जनाले दावेदारी पेश गरिसकेका छन् । 

संस्थापन पक्षबाट बालकृष्ण खाण, विश्वप्रकाश शर्मा, डा. प्रकाशशरण महत, रमेश लेखक, एनपी साउद र ज्ञानेन्द्र कार्कीले दावी पेश गरेका छन् भने इतर पक्षबाट डा. मिनेन्द्र रिजाल, गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारी र दीपक गिरीले दावी पेश गरेका हुन् । त्यसैगरी सिटौला पक्षका प्रदीप पौडेलले पनि दावी पेश गरेका हुन् ।