राप्रपा महाधिवेशन : प्रचण्ड र नेपाल बाहिरिएपछि पुगे पोखरेल

राप्रपा महाधिवेशन : प्रचण्ड र नेपाल बाहिरिएपछि पुगे पोखरेल

काठमाडौं । राजनीतिक दलभित्र अहिले वैमनष्यताको ठूलो खाडल बनेको छ । सभा–सम्मेलन–गोष्ठहरुमा एक अर्काको टिप्पणी गर्दै आएका राजनीतिक दलहरु अब एकले अर्काको मुख पनि नहेर्ने भएछन भन्ने कुरा राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा देखियो ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित राप्रपाको सो महाधिवेशनमा शुभकामना मन्तव्यका लागि विभिन्न राजनीतिक दलहरुलाई निमन्त्रणा गरिएको थियो ।

निमन्त्रणा बमोजिम सत्तारुढ दल प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा मालेका सीपी मैनाली, राष्ट्रिय जनमोर्चा पार्टीका प्रतिनिधिहरुको उपस्थिती थियो । 

ड्यासमा विपक्षी दल नेकपा एमालेका तर्फबाट कोही आएनछन् भन्ने चर्चा पनि चलिरहको थियो । कार्यक्रम सुरु भयो, उपस्थितहरुले आ–आफ्नो मन्तव्य दिए केही बेर बसेपछि बाहिरिए । त्यसपछि बल्ल नेकपा एमालेका तर्फबाट प्रतिनिधि भित्रिए । अध्यक्ष केपी शर्मा ओली पार्टीको कार्यक्रममा सहभागी भएनन्, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले राप्रपालाई शुभकामना दिन भृकुटीमण्डप पुगेका हुन् । 

पाँच दिनअघि नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटनका क्रममा राप्रपाका अध्यक्ष कमल थापाले चिवतन पुगेर शुभकामना दिएका थिए । अध्यक्ष थापा चितवन पुगेपछि ओली नै राप्रपाको महाधिवेशनमा आउछन् होला भन्ने अनुमान गरिएको थियो । तर त्यसो भएन । पार्टीका वरिष्ठ नेता आए त्यो पनि प्रचण्ड र नेपाल हिडिसकेपछि । यसबाट शीर्ष नेतृत्वहरुले अब एउटै स्टेज शेयर नगर्ने मौन सहमति भएको बुझ्न सकिन्छ ।