कांग्रेस वडा अधिवेशन : सर्लाहीमा झडप, पाँच घाइते

कांग्रेस वडा अधिवेशन : सर्लाहीमा झडप, पाँच घाइते

सर्लाही । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हाल विभिन्न जिल्लाहरुमा वडा अधिवेशन जारी छ । यसैक्रममा सर्लाहीमा वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृतमाथि हातपात हुँदा झडप भएको छ । झडपमा मतदान अधिकृत उमेशचन्द्र झासहित पाँच जना घाइते भएका छन् । 

सर्लाहीको निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत बलरा नगरपालिका ८ मा झडप भएको हो । अधिकृत झामाथि हातपात हुँदा प्रहरीले छेक्ने क्रममा भएको झडपमा पाँच जना घाइते भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए ।

तीन जना प्रहरीसहित जनता मावि फुलपरासीका मतदान अधिकृत झा र एक जना सर्वसाधारण घाइते भएका छन् । 

यस अघि सोही क्षेत्रमा आइतबार साँझ वडा अधिवेशनकै क्रममा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहमाथी हातपात भएको थियो ।