वरिष्ठ नेता पौडेलद्वारा कांग्रेसको अबको बाटो– रूपान्तरणका १० सूत्र सार्वजनिक

वरिष्ठ नेता पौडेलद्वारा कांग्रेसको अबको बाटो– रूपान्तरणका १० सूत्र सार्वजनिक

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी रूपान्तरणका १० सूत्र सार्वजनिक गरेका छन् । उनले पार्टीको कांग्रेसको अबको बाटो शीर्षकमा १० बुँदे एजेन्डा सार्वजनिक गरेका हुन् । 

उनले पार्टी विधानको मर्यादामा रहेर न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुद पार्न आह्वान गरेका छन् । कांग्रेसलाई आफ्ना नेताहरूका आचरण र व्यवहारमाथि निगरानी राखेर प्रश्न उठाउन सक्ने सक्षम र निडर कार्यकर्ताको आवश्यकता भएको भन्दै नेताको भक्तिमा लिप्त नभइकन, मुलाहिजामा नलागिकन निर्णय दिने र प्रश्न उठाउने आँट कार्यकर्तामा हुनु पर्ने जनाएका छन् । त्यस्तै महाधिवेशनले कसलाई कुन पदमा चयन गर्छ भन्दा पनि यसले कुन दिशामा पार्टीलाई लैजान्छ भन्ने महत्वपूर्ण रहेको बताएका छन् । 

उनले अमेरिकी लोकतन्त्रको दुई सय वर्षको ईतिहासमा कहिल्यै नभएका कुराहरू लोकतान्त्रिक तरिकाले निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले देखाएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘सत्ता पाएपछि मरिगए पनि छोड्नै नचाहने जुन प्रवृत्ति उनले देखाए, त्यो प्रवृत्ति अहिले नेपालमा पनि देखिइराखेको छ । आफ्नै पार्टीको बहुमत भएको संसद दुई–दुई पटक भंग गरेर केपी ओलीले जुन अधिनायकवादी चरित्र देखाए, त्यसविरुद्ध यहाँसम्म लड्नुपर्‍यो ।’

गुटहरूमा विभाजित कार्यकर्ताले नेताको मात्रै माया गर्ने या पार्टीको माया गर्ने ? पार्टीको मात्रै माया गर्ने कि लोकतन्त्रको माया गर्ने, देशको माया गर्ने ? भन्ने प्रश्नहरु गम्भिर भएको पनि उल्लेख गरेका छन् । 

‘‘कम्युनिष्ट फुटे हाम्रो फलिफाप हुनेछ’ भन्ने सोचाई नादान भएको भन्दै कांग्रेस आफ्नै दुरदर्शी दृष्टिकोण, खदिलो विचार शक्ति, संगठन कौशल र निष्ठाको बलमा राष्ट्र र जनताको सेवा गरेर सम्पूर्ण नेपालीलाई आकर्षित गर्ने पार्टी बन्नु पर्ने बताएका छन् । कठोर परिश्रम तथा नैतिक र चारीत्रिक शक्तिको बलमा बहुसंख्यक मतदाताले सहजै पत्याइएको पार्टी बन्नुपर्ने उल्लेख गरेका छन् ।