ओली -रावलबीच वार्ता हुन सकेन, चुनावी प्रचारमा लागे रावल

ओली -रावलबीच वार्ता हुन सकेन, चुनावी प्रचारमा लागे रावल

चितवन । अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै नेता व्यवस्थापन गर्न हम्मे हम्मे परेपछि एमालेमा नयाँ निर्विरोध नेतृत्व चयन प्रक्रिया अन्योलमा परेको छ।  वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङले दाबी गरेका छन्।

अर्कातिर महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले दाबी गरिरहेका छन्। यी चारैजना नेता ओलीनिकट हुन्। अर्कातिर सचिवमा पनि ओलीनिकटकै गोकुल बाँस्कोटा र महेश बस्नेतले दाबी गरिरहेका छन्। उनीहरु दुवैजना पहिलो पटक पदाधिकारीमा उक्लिने लविङमा छन्। 

ओलीले आफू बसेको पार्क सफारी रिसोर्टमा सबै दाबेदारलाई बोलाएर सहमति गराउन प्रयास गरे पनि यो समाचार तयार पार्दासम्म कोही अडानबाट पछि हटेका छैनन्। 

सौराहस्थित विभिन्न होटलमा नेताहरू अहिले पनि छलफलमै छन्। ओली आफ्नै समूह मिलाउन रस्साकस्सीमा लागिरहँदा उपाध्यक्ष रावलसँगको संवाद पनि अघि बढ्न सकेको छैन। अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावलले चुनावी प्रचारलाई तीव्र बनाएका छन्।