सिके राउतका कार्यकर्तामाथि प्रहरीले गर्‍याे लाठीचार्ज

सिके राउतका कार्यकर्तामाथि प्रहरीले गर्‍याे लाठीचार्ज

जनकपुरधाम । जनकपुरमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

बिहीबार खानेपानी संस्थान धनुषाका निमित्त प्रमुख जागेश्वर कुशवाहालाई दुर्व्यवहार गर्दै कपडा च्यातेर अर्धनग्न बनाई बजार घुमाउने जनमतका ६२ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरेकाहरुलाई तत्काल रिहाईको माग गर्दै  शुक्रबार जनमतका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय  घेर्न पुगेका थिए ।

यता पक्राउ परेकाहरुलाई कडा कारवाहीको माग गर्दै नेपाल इन्जिनियर्स एसोसियनको अगुवाइमा विभिन्न पेसागत संघसंस्थाहरु ज्ञापनपत्र बुझाउन त्यही बेला जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

जनमतका कार्यकर्तालाई कडा कारवाहीको माग गर्ने र कार्यकर्ता रिहा गर्नुपर्ने दुवै पक्षबीच विवाद सुरु भएपछि प्रहरीले हस्तक्षेप गरी लाठी बर्साएको हो । सो क्रममा लाठी र भाटासहित पुगेको जनमतका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ । 

झडपपछि जनमतका कार्यकर्ता त्यहाँबाट भागेका थिए । प्रहरीले जनमतका कार्यकताले बोकेका ब्यानर च्यातिदिएको छ भने उनीहरुले बोकेका लाठीभाटा पनि खोसेको छ ।