युरोकपको सेमिफाइनलमा भिड्दै छन् यी ४ टोली

युरोकपको सेमिफाइनलमा भिड्दै छन् यी ४ टोली

काठमाडौँ । युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार राति भएका क्वार्टरफाइनल खेलबाट इङ्ग्ल्यान्ड र डेनमार्क सेमिफाइनलमा प्रवेश गरेसँगै अन्तिम ४ मा पुग्ने टोलीको टुंग्गो लागेको हो। यसअघि इटाली र स्पेन सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। 

अब इङ्ग्ल्यान्डको वेम्बली स्टेडियममा हुने सेमिफाइनल प्रतिस्पर्धा बुधबार र बिहीबार हुनेछन्। पहिलो सेमिफाइनलमा इटाली र स्पेन तथा दोस्रो सेमिफाइनलमा डेनमार्क र इङ्ग्ल्यान्ड भिड्नेछन्। 

युक्रेनलाई ४–० गोल अन्तरले हराउँदै इङ्ग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएको हो। कप्तान ह्यारी केनका २ तथा ह्यारी मग्वाएर र जोर्डन हेन्डरसनका एक–एक गोलबाट इङ्ग्ल्यान्डले सानदार जित हासिल गरेको हो। 

यससँगै इङ्ग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो। यसअघि ऊ सन् १९९६ मा सेमिफाइनल पुगेको थियो। अर्को क्वार्टरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले हराउँदै डेनमार्कले अन्तिम ४ मा स्थान पक्का गरेको हो।

डेनमार्कलाई जित दिलाउन थोमस डेलाने र कास्पर डोलवर्गले एक एक गोल गरेका थिए।चेक रिपब्लिकका प्याट्रिक शिकले एक गोल फर्काएका थिए। डेनमार्कविरुद्ध गोलसँगै प्याट्रिकले जारी युरोमा ५ गोल गरेका छन्। यससँगै प्याट्रिक गोल्डेन बुटको दाबेदारमा क्रिस्टियानो रोनाल्डोसँग बराबर भएका छन्।