सर्वोच्चका नवनियुक्त न्यायाधीशद्वय सुवेदी र चुडालले लिए सपथ

सर्वोच्चका नवनियुक्त न्यायाधीशद्वय सुवेदी र चुडालले लिए सपथ

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र कुमार चुडालले पद तथा गोपनीयताको सपथ लिएका छन्। बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले नवनियुक्त न्यायाधीश सुवेदी र चुडाललाई पद तथा गोपनियताको सपथ गराएका छन्।

न्यायाधीशद्वयले नेपाली जनता, संविधान र अन्य कानुनप्रति पूर्ण निष्ठावान रही सर्वोच्च अदालतको न्यायाधीश पदको जिम्मेवारी न्यायपालिकाको स्वच्छता र मर्यादा विपरीत नहुने गरी इमान्दारपूर्वक पालना गर्ने भनी ईश्वरको नाममा सपथ लिएका छन्।

न्यायपरिषद्द्वारा प्रस्तावित दुवै जनाको नाम संसदीय सुनुवाई समितिले गत शुक्रबार अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायधीश पदमा नियुक्त गरेका थिए। सर्वोच्च अदालतका न्यायाधीशहरूको सपथ ग्रहण राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने चलन रहेको छ। तर‚ यसपटक कोरोना महामारीको जोखिमका कारण राष्ट्रपतिको उपस्थिति बिनाप्रधानन्यायाधीश जबराले पद तथा गोपनीयताको सपथ गराएका हुन्।