सभामुख सापकोटाविरुद्ध दायर ज्यान मुद्दाको भोलि सुनुवाइ हुने

सभामुख सापकोटाविरुद्ध दायर ज्यान मुद्दाको भोलि सुनुवाइ हुने

काठमाडौं । संघीय संसदका सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दाको बुधबार सुनुवाई हुने भएको छ। लामो समयदेखि पेसीमा नचढेको सो मुद्दा बुधबारका लागि पेसीमा चढेको हो। उक्त मुद्दाको संवैधानिक इजलासमा सुनुवाई हुन लागेको हो। 

सशस्त्र द्वन्द्वको बेला  काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो। हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै अर्जुनको श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन्।

उक्त रिटको पछिल्लो पटक गत पुस ३ गते संवैधानिक इजलासमा पेसी चढेको पनि हेर्न नभ्याइनेमा परेको थियो। उक्त रिट यसअघि १९ पटक पेसीमा चढेको थियो। सुरुमा पूर्णिमायाको जाहेरी प्रहरीले लिन नमानेको यो मुद्दा सर्वोच्च अदालतमा चलिरहको छ। जिल्ला प्रशासनको आदेशमा प्रहरीले जाहेर नलिएको विषयलाई लिएर पूर्णिमायाले सर्वोच्च अदालतमा रिट दायर गरिन्।

रिटमा सुनुवाइ गर्दै सर्वोच्चले २०६४ फागुन २७ गते उनको जाहेरी दर्ता गर्न प्रहरी र जिल्ला प्रशासन कार्यालयका नाममा आदेश दियो। अदालतको उक्त आदेशपछि काभ्रे प्रहरीले २०६५ साउन २७ गते सापकोटा लयायत अन्य ६ जना माओवादीविरुद्ध कर्तव्य ज्यान मुद्दाको उजुरी दर्ता गरेको थियो। गत वर्ष सापकोटा सभामुख बन्दैगर्दा पनि कर्तव्य ज्यान मुद्दाका आरोपी सभामुख बन्न नमिल्ने भन्दै चर्को विरोध भएको थियो। तर, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोड बलमा सापकोटा सभामुख भएका थिए।

२०६८ वैसाख २१ गते नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको नेतृत्वमा सापकोटालाई सूचना तथा सञ्चारमन्त्री बनाइएपछि सो मुद्दा पुनः सुरु भएको थियो। सापकोटाविरुद्ध २०७२ चैत २६ मा अधिकारकर्मी सुशील प्याकुरेललगायतले अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै दायर रिट, काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी पत्नी पूर्णिमाया लामाले ०६९ मंसिर ७ मा दायर रिट र २०६८ असार ६ मा सापकोटाले दर्ता गराएको अदालतको अवहेलनासम्बन्धी मुद्दाको पेसी संवैधानिक इजलासमा विचाराधीन छ।