माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए नयाँ सरकार गठनमा अग्रसरता लिन्छु: सभापति देउवा

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए नयाँ सरकार गठनमा अग्रसरता लिन्छु: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नभएको बताएका छन् । सभापति देउवाले अहिलेको राजनीति एकदमै तरल अवस्थामा रहेकाले के हुन्छ भन्न नसकिने पनि उल्लेख गरे।

नयाँ सरकार गठनका लागि माओवादी केन्द्रले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताउँदै पत्रकारहरुसँग देउवाले भने-‘सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र अलग भएका छन् । ओली र प्रचण्डबीच द्वन्द्व देखिएको छ । तर, अहिलेसम्म माओवादीले किन समर्थन फिर्ता लिएको छैन ? यसमा शंका छ । ओली अहिले पनि सुविधाजनक बहुमतमै छन् । अल्पमतमा छैनन् । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा कांग्रेस सरकार गठन गर्न अग्रसरता लिन्छ ।’

नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित खोजमुलक संस्कृतिक ग्रन्थ ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ को आज विहान आफ्नै निजी निवास बुढानिलकण्ठमा लोकार्पण गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

२० वटा जातजातीको संस्कार र संस्कृतिको विषयमा लेखिएको खोजमुलक ग्रन्थबारे साहित्यकार पुष्कर लोहनीले टिप्पणीका साथै चर्चा गरेका थिए ।