कर्णाली प्रदेशको सरकार अल्पमतमा, ३ जना मन्त्रीले दिए सामुहिक राजीनामा

कर्णाली प्रदेशको सरकार अल्पमतमा, ३ जना मन्त्रीले दिए सामुहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका तीन मन्त्रीले आज सामुहिक राजीनामा दिएका छन् । नेकपा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी एमालेका तीन मन्त्रीले सामुहिक राजीनामा दिएका हुन् ।

एमालेबाट सरकारमा सहभागी सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजीनामा पत्र बुझाएका हुन्।

राजीनामा दिनु अघि मन्त्री परिषद् बैठक बसेको थियो । तीन जना मन्त्रीले राजीनामा दिएर नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् ।

नेकपा विभाजनपछि एमालेले यही चैत्र ५ गते माओवादी केन्दलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियोे । कर्णाली प्रदेश सभामा ४० जना सांसदमध्य माओवादी केन्द्रले दैलेखबाट निर्वाचित सांसद धर्मराज रेग्मीलाई कारवाही गरेको पत्र संसदलाई बुझाएको छ । अब प्रदश सभामा ३९ जना संसद छन् ।

यी मध्ये नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र राप्रपाका एक जना सांसद छन् । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पद धरापमा परेको छ ।