नेपाल पक्षको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

नेपाल पक्षको स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठकले देशव्यापी अभियान सुरु गर्ने निर्णय गरेको छ। बैठकपछि नेता योगेश भट्टराईले संगठन निर्माण, प्रशिक्षण, अभियान, विशेषखालका कार्यक्रम गर्ने निर्णय भएको सञ्‍चारकर्मीलाई जानकारी दिए। नयाँ ढाँचाका कार्यक्रमलाई अन्तिम रुप शनिबार बस्ने स्थायी कमिटी बैठकले तय गर्ने उनले बताए।

‘राष्ट्रिय भेलाले तय गरेको देशव्यापी संगठन निर्माणको अभियान चलाउने छलफल भएको छ। त्यसका लागि राष्ट्रव्यापी कार्यक्रमको ढाँचा तयार गरिने छ। बैठकमा केही प्रस्ताव आएका छन्,’ भट्टराईले भने।

चैत ४ र ५ मा भएको राष्ट्रिय भेलाको प्रस्तुत अवधारणपत्रमा १० टोलीले दिएका सुझाव समेटेर तयार भएको पुस्तिकालाई तल्लो तहमा वितरणसमेत गरिने भएको छ। शनिबार स्थायी कमिटी बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिने भट्टराईले जानकारी दिए।

बैठकले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी कदम भएको बैठकले ठहर गरेको छ। भट्टराईले भने,‘नवौं महाधिवेशनको विधानविपरीत भएको कारबाही पूर्वाग्रही छ। कारबाहीले प्रम ओली पार्टी विभाजन गर्न उद्धत रहेको पुष्टि हुन्छ।’

फागुन २३ को सर्वोच्चको फैसलाअनुसार एकतालाई रक्षा गर्न देशभरका कार्यकर्तालाई आह्वान गर्ने बैठकले निर्णय गरेको छ। नेपाल(खनाल पक्षले बनाएका समानान्तर कमिटी नभएको भट्टराईले दाबी गरे। सर्वोच्चको फैसलाअघि २०७५ साल जेठ २ अघिकै अवस्थामा रहेर संगठन निर्माण गरिएको उनले बताए।  आफ्नो पक्षमा बहुमत रहेकोसमेत उनले दोहोर्‍याए। स्थायी कमिटीको अर्को बैठक शनिबार दिउँसो ३ बजे बस्‍ने भएको छ।