सर्वेक्षणले भन्छ आधी मान्छेले पत्याउँदैनन् ओलीका कुरा

सर्वेक्षणले भन्छ आधी मान्छेले पत्याउँदैनन् ओलीका कुरा

काठमाडाैं । सर्वेक्षणले भन्छ, हाम्रा प्रधानमन्त्री केपी ओलीका कुरा आधा जनताले पत्याउँदैनन् । सेयरकाष्ट नेपालका मधु आचार्य र भूमिराज चापागाईंहरूले देशका ५०-८२ परिवारमाझ गराएको सर्वेक्षणमा सहभागीमध्ये आधाले प्रधानमन्त्री ओलीको कुरामा विश्वास नलाग्ने मत प्रकट गरेका हुन् ।

सातै प्रदेशबाट १६ वर्षभन्दा माथि उमेर समूहका मानिसबीच गरिएको मत सर्वेक्षणमा सहभागीमध्ये ४६ दशमलव ९ प्रतिशतले प्रधानमन्त्रीको कुरा पत्यार नलाग्ने मत प्रकट गर्दा ३६ दशमलव २ प्रतिशतले थोरै मात्रै विश्वास हुने र ११.३ प्रतिशतले मात्रै पत्याउन नसकिने बताएका छन् ।

फागुन ९ देखि २३ गतेसम्म चलेको सर्वेक्षण प्रतिवेदनको नतिजा ६ दिनअघि सार्वजनिक गरिएको थियो । सर्वेक्षणमा सहभागीहरूलाई देश सही दिशातिर गइरहेको छ कि छैन ? भनी सोधिँदा ४४ दशमलव ३ प्रतिशतले गलत दिशातिर गइरहेको,२२ दशमलव ५ प्रतिशतले उस्तै अवस्थामा रहेको विवरण टिपाएका थिए ।

यस्तै, प्रदेशका मन्त्रीहरूको कुरा नपत्याउने ४५ दशमलव ५ प्रतिशत, मुख्यमन्त्रीका कुरा हावा ठान्ने ४६ दशमलव ३, सांसदका कुरामा विश्वस्त नहुने ४६ दशमलव १ प्रतिशत हुँदा नेताका कुरामा विश्वास नमान्ने ६० दशमलव ५ प्रतिशत रहेको तथ्यांक आएको जनआस्थामा खवर छ ।

मेयर वा उपमेयरका कुरा नपत्याउने ३४ दशमलव ३, वडाअध्यक्ष वा जनप्रतिनिधिको कुरामा विश्वास नगर्नेको संख्या ३१ दशमलव ७ प्रतिशत छ । अघिल्लो साता सार्वजनिक सो सर्वेक्षण प्रतिवेदनअनुसार न्यायाधीश तथा वकिलको कुरा पत्याउने ३७.८ प्रतिशत र पत्रकारका कुरा पत्याउने ५०.५ प्रतिशत छन् । सर्वेक्षणमा सहभागीमध्ये अधिकांशले मुलुक राजनीतिक हिसाबले गलत दिशातिर गइरहेको मत दिएका छन् । यसो भन्नेको संख्या ४४.३ प्रतिशत छ ।

२१.९ प्रतिशतले मात्र देश सही दिशामा गइरहेको मत दिएका छन् । यस्तै प्रधानमन्त्री ओलीका कारण लोकतन्त्र नै संकटमा परेको मान्नेको संख्या ४४ दशमलव ५ प्रतिशत छ भने सरकारका कारण अहिलेको संकट आएको भन्नेहरू ४६ दशमलव ५ प्रतिशत छन् । अहिलेको स्थितिको जिम्मेवार प्रचण्ड र माधव नेपाललाई ठान्नेहरू पनि सानो संख्यामा छैनन् ।

४१ दशमलव ९ प्रतिशतले यी दुई नेतालाई देश बर्बादीको कारक ठह¥याएका छन् । सहभागीहरूलाई देशमा लोकतन्त्र वा गणतन्त्र बलियो बनाउन सबैभन्दा भरपर्दो राजनीतिक दल कुन होला भनी सोधिएको प्रश्नमा १३.४ प्रतिशतले कांग्रेसको नाम लिएका छन् । दोस्रो स्थानमा ओली नेतृत्वको नेकपा ९.६ प्रतिशत छ । तेस्रोमा तत्कालीन माधव–प्रचण्ड नेतृत्वको नेकपा ४.१ प्रतिशत देखिएको छ ।

सर्वेक्षणमा मुलुक गलत दिशातिर जानुको कारक के हो ? मुलुकका जल्दाबल्दा समस्या के हुन् ? संघीय सरकारले तत्काल गर्नुपर्ने तीन वटा प्रमुख काम के–के हुन् ? तपाईंको स्थानीय तहको कामप्रति कतिको सन्तुष्ट हुनुहुन्छ ? सर्वोच्च अदालत र निर्वाचन आयोगले निष्पक्ष काम गर्छ भन्नेमा कत्तिको विश्वास गर्नुहुन्छ रु नेपाल हिन्दूराष्ट्र हुनुपर्छ कि धर्मनिरपेक्षलगायत दर्जन बढी प्रश्न सोधिएको थियो ।