एमालेबाट निलम्बनमा परेपछि घनश्याम भुसालले दिए यस्तो प्रतिक्रिया

एमालेबाट निलम्बनमा परेपछि घनश्याम भुसालले दिए यस्तो प्रतिक्रिया


काठमाडौं । नेकपा एमालेबाट निलम्बनमा परेका नेता घनश्याम भुसालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीका लागि यो संसारमा या त चाकर मात्रै रहेको या शत्रु मात्रै रहेको बताएका छन् ।

अध्यक्ष ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरे पनि फेसबुक स्टाटसमा भुसालले असीमित सत्ताभोगको अतृप्त तृष्णाले ओलीलाई म र मेरोबाहेक केही नदेख्ने बनाएको आरोप लगाए  ।

भुसालले लेखेका छन्, ‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैँले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन् या शत्रु ।’

उनी अगाडि लेख्छन्, ‘उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँलारगर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि मैले दुनियाँसँग माफी माग्छु ।’