बालुवाटारमा वामदेवको अपमान

बालुवाटारमा वामदेवको अपमान

काठमाडौं । कुनै बेला एमालेभित्र र बाहिरको आन्तरिक राजनीतिक शक्ति केन्द्रको पर्यायवाची बनेका वामदेव गौतमलाई शुक्रबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा स्वयम् प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘अपमानित’ गराएको बताइन्छ ।

विगतमा गौतमको काँधमा बालुवाटारले पटक पटक राजनीतिक बन्दुक राखेर पड्काएको थियो । नेकपामा हुँदादेखिको दुईपक्षीय विवाद अहिले एमालेमा झन् बढेको छ । पार्टीलाई विभाजनको तहसम्म पुग्न नदिने भन्दै गौतमले एकताको प्रयास गरिरहेका छन् ।

दुई दशक अघिसम्म धेरैले साथ र समर्थन दिएका गौतमलाई पछिल्लो दिनमा बालुवाटारले राम्रैसँग प्रयोग गरेको थियो । अहिले तिनै गौतमलाई त्यहि बालुवाटारले बैठकमा उठेर बोल्ने समय माग्दा ‘नो’ भनेको छ । आफ्ना केही कुरा राख्ने भन्दै गौतमले समय मागेपनि बैठकको अध्यक्षता गरिरहेका प्रधानमन्त्री ओलीले कुनै चासो नदिएर अपमानित गराएका थिए ।

तर,पार्टीमा देखिएको दुई धारमा उनकी माननीय श्रीमती र छोरा भने उतै खटिएको देखिन्छ । बैठकमा गौतमलाई समय नदिइएको सम्बन्धमा बालुवाटार स्रोतले भनेको छ ‘अब उनको क्षमता र प्रभावबारे सबैले देखे । त्यसैले पत्याउन छाडेका हुन्, किनभने उनको आधार सोचेकोभन्दा कमजोर देखियो ।’