मेलम्चीको पानी आजदेखि उपभोक्ताको घरघरमा पुग्दै

मेलम्चीको पानी आजदेखि उपभोक्ताको घरघरमा पुग्दै

काठमाडौं  । लामो समयदेखि काठमाडौँ उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी आजदेखि उपभोक्ताको घरघरमा पुग्दै छ । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबारदेखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो ।

तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आइतबारदेखि उपभोक्ताको घरमा पठाउन लागिएको हो । पहिलो दिन चार करोड लिटर पानी पुरानो वितरण प्रणालीमार्फत उपभोक्ताको घरघरमा पठाइने छ । केही पानी पुरानो पाइपलाइनबाट वितरण गर्ने केही पानीबाट नयाँ पाइपलाइन परीक्षण र सफाइ गर्ने योजना छ । हाल पानी प्रशोधन केन्द्र, पाइपलाइन, ट्याङ्की परीक्षणका लागि पानी वितरण गरिएको हो ।

गत फागुन १० गते परीक्षणका लागि मुहानबाट सुरुङमा छाडिएको पानी झन्डै २७ किलोमिटर सुरुङ पार गर्दै १२ दिनपछि सुन्दरीजलमा आइपुगेको थियो ।

काठमाडौँ उपत्यकामा हाल दैनिक ४३ करोड लिटर खानेपानी माग रहेकोमा ३१ करोड लिटर अपुुग छ । मेलम्ची खानेपानी आयोजनाकै दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी उपत्यकामा भित्राउने लक्ष्य छ । यो आयोजनाको अहिलेसम्मको ३१ अर्ब ३६ करोड रुपियाँ खर्च भएको छ ।