काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीविरुद्ध दिएको अभिव्यक्तिप्रति प्रश्न उठाएका छन् । प्रचण्डले आइतबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीलाई ’वर्षौदेखि विदेशीबाट पालित–पोषित’ भएको आरोप लगाएकोप्रति आज ट्विट गर्दै थापाले प्रश्न उठाएका हुन् ।
आफैंले विदेशी एजेन्ट भनेका व्यक्तिसँग एउटै पार्टीमा रहेर सहकार्य गरेको मात्र नभएर अझै पनि प्रधानमन्त्रीको समर्थन फिर्ता नलिएकोप्रति अध्यक्ष थापाले आश्चर्य व्यक्तसमेत गरेका छन् । उनले यसलाई लाजमर्दो राजनीतिको संज्ञासमेत दिएका छन् ।
‘दुईपटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बर्षौदेखि विदेशीबाट पालित–पोषित एजेन्ट’ भनी आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ’, उनले लेखेका छन्, ‘यस्तो गम्भीर आरोप लगाउने, तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति !’
प्रचण्डले आइतबार ५६ औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसका अवसरमा नेपाल दलित मुक्तिमोर्चाले गरेको कार्यक्रममा ओली २०–२५ वर्षदेखि विदेशीहरूले हुर्काएको, पालित–पोषित रहेको आरोप लगाएका थिए ।