हाम्रा माग पूरा गर्न प्रधानमन्त्री ओली सकारात्मक छन्ः जसपा नेता कर्ण

हाम्रा माग पूरा गर्न प्रधानमन्त्री ओली सकारात्मक छन्ः जसपा नेता कर्ण

काठमाडौं । जसपा नेता लक्ष्मणलाल कर्णले आफूहरूको माग पूरा गर्न प्रधानमन्त्री केपी ओली सकारात्मक देखिएको बताएका छन् । सिंहदरबारमा बुधबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधान संशोधन, नागरिकतालगायत जसपाले उठाउँदै आएका मुद्दालाई सम्बोधन गर्न ओली सकारात्मक देखिएको बताएका छन् । 

राजनीतिक दलहरूबीच सरकार गठनको कसरत चलिरहेका वेला जसपा नेता कर्णले आफूहरूका मागमा प्रधानमन्त्री ओली सकारात्मक देखिएको बताएका हुन् । कर्णले सबै दलहरूसँग छलफल चलिरहेकाले कार्यकारिणी समितिमा छलफल गरेपछि पार्टीले अन्तिम निर्णय लिने बताए । जसपाको नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले वर्तमान अवस्थामा जसपाको नेतृत्वमा सरकार बनाउन नहुने बताए । 

सरकारमा सहभागी हुनु, समर्थन गर्नु र सरकारको नेतृत्व नै लिने विषय भिन्नभिन्न भएको भन्दै कर्णले अरू दलको आड लिएर नेतृत्वमा पुग्न नहुने बताए । उनले भने, ‘जसपाले अहिलेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउन हुँदैन । यो मेरो व्यक्तिगत धारणा हो । यो सरकार अरूको हत्केलामा हुन्छ । अरूको हत्केलामा भएको सरकार जुन वेला पल्टाइदिन्छ, त्यो वेला साफ हुन्छ । त्यसकारणले सरकारमा जानु अलग हो । सरकारलाई समर्थन गर्नु अलग हो । र, सरकारै चलाउने विषय झन् अलग हो । यसको लागि पार्टीले भने त मेरो विचार काम लाग्दैन ।’