माओवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, नाम परिवर्तनको मुद्दा टुंग्याउने तयारी

माओवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, नाम परिवर्तनको मुद्दा टुंग्याउने तयारी

काठमाडौं । नेकपा माआवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। बैठक सोमबार १२ः३० बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ। आइतबारको बैठकले अन्य राजनीतिक दलसँग वार्ता र छलफललाई निरन्तरता दिने निर्णय गरेको थियो। सोमबारको बैठकमा पार्टीको नाम परिवर्तनबारे छलफल गरेर टुंयाउने केन्द्रीय सदस्य सूर्यमान दोङले जानकारी दिए। 

यस्तै, बैठकले स्थायी कमिटीले प्रस्ताव गरेअनुसार अहिलेसम्म मन्त्री पदमा रहेका नेतालाई पद त्याग गरेर सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो। बैठकमा मन्त्रीबाट फिर्ता नभए अनुशासनको कारवाही गर्ने निर्णय पनि भएको छ।

बैठकको सुरुवातमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थिति कम्युनिस्ट पार्टीमाथि भएको आक्रमणको स्थिति, पार्टी र कम्युनिस्ट आन्दोलनमा देखा परेका चुनौती र भावी कार्ययोजनाबारे समीक्षात्मक जानकारी गराएका थिए। वर्तमान सन्दर्भमा पार्टी र आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा सुझावात्मक टिप्पणी गर्ने, संठनात्मक काम र पार्टी विधान संशोधन तथा पार्टी अनुशासन, राष्ट्रिय भेला, कम्युनिस्ट आन्दोलन एकीकरणका विषयका कार्यसूची बैठकले पास गरेको छ। आज पनि यी विषयमा थप छलफल गर्ने बताइएको छ।