राजपा नेताहरु कांग्रेस सभापति देउवालाई भेट्न बूढानिलकण्ठ जाँदै

राजपा नेताहरु कांग्रेस सभापति देउवालाई भेट्न बूढानिलकण्ठ जाँदै

काठमाडौं ।  एमाले र माओवादी केन्द्र ब्युँतिएपछि जनता समाजवादी पार्टी (जसपा) भावी सत्ता समीकरणमा निर्णायक बनेको छ । संसदमा तेस्रो शक्तिबाट चौथो बनेको राजपा झन निर्णायक बनेको हो । ठूला दल विभाजित हुँदाको प्रत्यक्ष फाइदा जसपाले पाउने लगभग निश्चितजस्तै छ । त्यसैले जसपाका नेताहरु अहिले दुई विपरित ध्रुवमा विभाजित एमाले र कांग्रेस-माओवादीसंग तारन्तार भेटघाटमा छन् ।

केही दिनदेखि लगातार भेटघाटमा जुटेका जसपाका नेताहरु आज कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानिलकण्ठ जाँदैछन् । अपरान्ह ४ बजे देउवा निवास बूढानीलकण्ठमा हुने भेटमा सरकार गठनबारे छलफल हुने बताइएको छ । अस्ति प्रधानमन्त्री केपी ओलीसँग भेटेका जसपाका नेताहरुले हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । उनीहरुले हिजै बालुवाटारमा प्रधानमन्त्री ओलीसंग अर्को भेटघाट गरेका छन् ।

सरकारमा जान दौडधुप गरिरहेको जसपामा कस्तो समीकरण बनाउने भन्नेवारे आफैंमा भने विवादित छ । अध्यक्ष महन्थ ठाकुर,बरिष्ठ नेता राजेन्द्र महतोलगायत पूर्व राजपाका नेताहरु प्रधानमन्त्री ओलीसँग मिलेर अहिलेकै सरकारलाई निरन्तरता दिने तयारीमा छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव,डा। बाबुराम भट्टराईलगायत पूर्व समाजवादी पार्टीका नेताहरु ओलीइतर गठवन्धन बनाएर जानुपर्ने पक्षमा छन् ।

कांग्रेस र माओवादी केन्द्र कुनै पनि हालतमा ओली सरकार विस्थापित गरेर नयाँ सरकार गठन गर्नुपर्ने पक्षमा छन् ।