संसदीय दलको नेता चयन गर्ने जसपाको तयारी

संसदीय दलको नेता चयन गर्ने जसपाको तयारी

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले आज संसदीय दलको नेता चयन गर्ने भएको छ। तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीचको एकीकरणपछि बनेको जसपाले आज बस्ने संसदीय दलको बैठकबाट दलको नेता चुन्ने भएको हो।

बैठक दिउँसो एक बजे पार्टी कार्यालय ग्वार्कोमा बोलाइएको छ। सरकार गठनका लागि निर्णायक शक्ति बनेको जसपाले हिजो सत्तारुढ एमालेका नेताहरुसँग उच्चस्तरीय छलफल गरी सत्ता समीकरणका लागि आफ्ना शर्तहरु राखेको थियो।

मधेश आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइलगायतका विषयमा सरकार सकारात्मक भएपछि आज यसबारे थप छलफल गर्न लागिएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।

आजै बस्ने संसदीय दलको बैठकले सरकारसँग वार्ताका लागि गठित कार्यदलमा थप एकजना सदस्य नियुक्त गर्ने कर्णले बताए। जसपाले सत्ता समीकरणबारे छलफल गर्न कर्णकै नेतृत्वमा दुई सदस्यीय कार्यदल यसअघि नै बनाइसकेको छ। कार्यदलमा सर्वेन्द्रनाथ शुक्ल सदस्य छन्।