राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई अटेर गरे: प्रदीप पौडेल

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई अटेर गरे: प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई अटेर गरेको बताएका छन्। राष्ट्रपति र प्रधानमन्त्रीले संविधानभन्दा माथि आफूलाई ठान्ने गरेको पौडेलको भनाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा गरेको प्रतिनिधि सभा विघटन गर्ने सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन्। त्यसतर्फ संकेत गर्दै शुक्रबार शान्तिबाटिका काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले संविधानमाथि बसेका राजालाई फालेर गणतन्त्र ल्याइएको भन्दै राष्ट्रपति र प्रधानमन्त्री संविधानभन्दा माथि नभएको पनि बताए।

‘स्थिरताको प्रधान शत्रु केपी ओली हो,’ उनले भने, ‘हिजो राजाहरूले संविधान टेरेनन्। आज संविधानमाथि राष्ट्रपति र प्रधानमन्त्री बस्न खोजिरहेका छन्। यो स्वीकार्य हुन्न।’ प्रचण्डसँग रिस उठ्यो भन्दैमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक र अलोकतान्त्रिक कदम चालेको पौडेलको भनाइ छ।

‘असंवैधानिक काम गर्ने प्रधानमन्त्रीले संवैधानिक चुनाव गर्नु हुन्न,’ उनले भने, ‘वैशाखमा चुनाव हुन्न। चुनाव हुन्छ भनेर पत्याउने कांग्रेस त्यति मुर्ख छैन।’ कांग्रेसलाई जिताउन ओलीले चुनाव नगर्ने उनले बताए।

पौडेलले प्रधानमन्त्रीको कुर्सी छाडेर चुनाव लड्न आउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्। ओलीले अब जमानत पनि जोगाउन नसक्ने दाबी पौडेलको थियो।