अदालतले दायाँबायाँ फैसला गर्दैन भन्ने विश्वास छ– गगन थापा

अदालतले दायाँबायाँ फैसला गर्दैन भन्ने विश्वास छ– गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रतिनिधि सभा विघटनमा सर्वोच्च अदालतले दायाँबायाँ फैसला गर्दैन भन्ने विश्वास रहेको बताएका छन् । संविधानमा लेखिएका बाहेक काल्पनिक कुराको व्याख्या अदालतले गर्न नमिल्ने उनले बताए । 

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ ले शुक्रवार काठमाडौंको रत्नपार्कमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता थापाले प्रतिनिधि सभा विघटनका सम्बन्धमा कांग्रेस बोलिसकेकाले अदालतसँग तर्सिनु आवश्यक नभएको बताएका हुन् । 

‘अहिले कतिपय साथीहरूले अदालतका बारे बोल्नुहँदैन भनेका छन्, बीपी कोइरालाको कार्यकर्ता हो । बीपीले न्यायको चार किल्लाभित्र न्यायको हत्या नहोस् भन्नुभएको थियो, पञ्चायतको बेलामा । अदालतमा विचाराधीन भनेर रामसाहपथ देखेर भाग्नेहरू कायर हुन् । अदालतमा भएको विषयका कांग्रेस बोलिरहेको छ,’ थापाले भने ।  

केन्द्रीय सदस्य थापाले संसदीय व्यवस्थाको नाममा काल्पनिक कुराको सर्वोच्चले व्याख्या गर्न नमिल्ने जिकिर गरे । ‘अदालतले दायाँबायाँ फैसला गर्दैन भन्ने विश्वास छ । तपाईंहरू संविधान पल्टाएर हेर्नुभएको छ, पढ्ने त्यही नै हो । त्यसको सिर्जना कहाँबाट भयो रु अक्षर शून्यमा आएका होइनन् होला,’ थापाले भने, ‘अदालतले लेखेको व्याख्या गर्ने हो, काल्पनिक कुराको व्यवस्था गर्ने होइन ।’

नेता थापाले न्यायको पक्षमा बोल्दा आफू पनि अदालतको अवहेलनाको मुद्दा खेप्न तयार रहेको बताए । ‘सर्वोच्च अदालतप्रतिको सर्वोच्च विश्वास न्याय र फैसलाबाट प्रमाणित गर्नुपर्छ,’ थापाले भने ।