नेकपाको ओली समूह दुई कानुनविद्सहित निर्वाचन आयोगमा उपस्थित हुने

नेकपाको ओली समूह दुई कानुनविद्सहित निर्वाचन आयोगमा उपस्थित हुने

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहलाई छलफलका लागि बोलाएको छ । चुनावको प्रयोजनबारे छलफलका लागि दुवै पक्षलाई बिहान साढे ११ बजेका लागि बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दुवै समूहका अध्यक्ष आफैँ वा अध्यक्षले तोकेका अधिकारिक ५ जनालाई आयोगले बोलाएको हो । तर छलफलमा दुवै समूहका अध्यक्ष भने सहभागी नहुने भएका छन् । आयोगले ५ जना सहभागी हुन भनेको तर आफूहरुले भने दुई जना कानुनविद्सहित ७ जना सहभागी हुने प्रस्ताव गरेको ओली समूहले जनाएको छ।

ओली समूहबाट नेताहरु सुवासचन्द्र नेम्वाङ, महासचिव विष्णु पौडेल, दुई कानुनविद् र अरु नेताहरुसहित ७ जना छलफलमा सहभागी हुने तयारी छ ।

यस्तै आयोगको आग्रहअनुसार आफ्नो समूहबाट नेताहरु लीलामणि पोखरेल, राजेन्द्र पाण्डेलगायत नेताहरु सहभागी हुने प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ओली समूहले कानुनविद्हरुसहित सहभागी हुने बताइएकाले कसरी सहभागी हुने भन्नेबारे अहिले आफूहरु छलफलमा रहेको नेता पोखरेलले जानकारी दिए ।