नेपाली कांग्रेसलाई एक मुख्यमन्त्री दिन नेकपाका दुबै समूह तयार

नेपाली कांग्रेसलाई एक मुख्यमन्त्री दिन नेकपाका दुबै समूह तयार

काठमाडाैं । नेपाली कांग्रेसका नेताहरूले आफूलाई वाग्मती र प्रदेश नं १ मध्ये एउटामा मुख्यमन्त्री दिन नेकपाका दुवै पक्ष तयार रहेको सङ्केत दिएको बताएका छन्। प्रचण्ड र माधव नेपाल समूहका एक नेताले पनि आफ्नो पक्षबाट कांग्रेससँग त्यस विषयमा कुरा भएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताका अनुसार नेपाली कांग्रेससहितका दलसँग कुराकानी गर्न प्रदेश तहमै निर्देशन दिइएको बताए। नेकपाभित्रैबाट दुई प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आएपछि सङ्कटमा परेको सरकार जोगाउन वा नयाँ बनाउन दुवै पक्षले कांग्रेसको साथ जुटाउनुपर्ने देखिन्छ।

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीका अनुसार केही दिनअघि सभापति शेरबहादुर देउवाले दुवै प्रदेशका केन्द्रीय सदस्य र नेताहरूसँग प्रदेशहरूमा सम्भावित समीकरणबारे परामर्श गरेका थिए। वाग्मती प्रदेशबारेको छलफलमा सहभागी उनले भने, “सभापतिजीले पार्टीको हित र लाभलाई ख्याल गरेर अघि बढ्ने बताउनुभयो। दुवै पक्षले मुख्यमन्त्री दिन तयार रहेको बुझिन्छ।”

पार्टीले प्रधानमन्त्रीको कदमलाई ‘बदनियतपूर्ण, असंसदीय, असंवैधानिक र अलोकतान्त्रिक भनेकोले त्योसँग बाझिनेगरी नजाऔँ’ भन्ने राय धेरैले दिएको उनको भनाइ छ। त्यसको अर्थ प्रचण्ड पक्षसँग सहकार्य राजनीतिक हुने उनीहरूको तर्क हो।

“तर सभापतिजीले पार्टीको हित कसरी हुन्छ त्यो हेरौँ भन्नुभयो, हामीले पनि ठिक छ पार्टी हित कसरी हुन्छ त्यो पनि सोच्नुहोस् भन्यौँ,” नेताले जोशीले भने। कांग्रेसकै नेत्री पुष्पा भुसालका अनुसार मङ्गलवारदेखि फेरि सुरु भएको केन्द्रीय समिति बैठकमा पछिल्लो राजनीतिक परिस्थितिअन्तर्गत प्रदेश तहको राजनीतिबारे पनि छलफल हुनसक्ने बताइन्।

सभापति देउवासँग छलफलमा सहभागी अर्का नेता प्रकाशशरण महतका अनुसार धेरै नेताहरूले पार्टी हित हेर्ने नै भनेको बताए। “तर नेकपा अझै एउटै पार्टी छ र एउटालाई हटाएर आफ्नै अर्कोलाई मुख्यमन्त्री प्रस्तावित गरेका मात्र हुन्, त्यसैले कांग्रेस अहिले हौसिन हुन्न,” नेता प्रकाशशरण महतले भने, “परिस्थिति अनुकूल भएमा सार्वजनिक रूपमा र दलीय रूपमा पार्टीको हित हेरेर निर्णय लिने हो।”

कांग्रेसका अर्का नेता गोपालमान श्रेष्ठले केन्द्रीय समिति बैठकबाट खाका तयार हुने ढङ्गले राय सुझाव आउन सक्ने सम्भावना दर्शाए।