आज गोरखाका पाँच पालिकामा सार्वजनिक बिदा

आज गोरखाका पाँच पालिकामा सार्वजनिक बिदा

गोरखा । गोरखा दुई सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाका पाँच वटा पालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।आधुनिक नेपाल एकीकरणका नायक तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मथलो समेत रहेको जिल्लाको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । 

पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा एक दिन सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ । सार्वजनिक बिदाका दिन ती पालिकाभित्रका सबै सरकारी कार्यालय, विद्यालयलगायत सार्वजनिक सङ्घसंस्था बन्द रहने जनाइएको छ । 

गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यवतीका जेठा छोराका रूपमा विसं १७७१ पुस २७ गते जन्मनुभएका पृथ्वीनारायण शाहले टुक्रिएर रहेका बाइसे चौबिसे राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेको इतिहासमा उल्लेख छ ।

पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा आजै गोरखा नगरपालिकाको आयोजना तथा गोरखा युथ क्लबको संयोजनमा द्रव्यशाह चौतारा हुँदै ठूलो आँगन, अस्पताल चोक, हरमटारी, पुरानो बसपार्क हुँदै गोरखा दरबारसम्म खुल्ला दौड प्रतियोगिताको आयोजना गरिएको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्तले जानकारी दिए ।

त्यस्तै आजै सदरमुकामको खेलकुद मैदानदेखि हरमटारी हुँदै गोरखा सङ्ग्रहालयसम्म विभिन्न जातजातिको झाँकी प्रस्तुत प्रदर्शन गरिने, पत्रकार महासङ्घ गोरखाको आयोजनामा पृथ्वीनारायण शाहको शालिक परिसरमा दीप प्रज्वलन, राप्रपा गोरखाको आयोजनामा पृथ्वी जयन्ती समारोहको आयोजना गरिएको छ ।