चुनावमा प्रचण्ड-माधव पक्षसँग सहकार्य हुनसक्छ : मन्त्री थापा

चुनावमा प्रचण्ड-माधव पक्षसँग सहकार्य हुनसक्छ : मन्त्री थापा

सुर्खेत। प्रधानमन्त्री केपी शार्मा ओलीले गरेको संसद विघटन र चुनाव घोषणा देशलाई पुनः स्थायित्व दिने प्रयास भएको खानेपानी मन्त्री मणिचन्द्र थापाले बताएका छन्। मंगलबार वीरेन्द्रनगरमा सञ्चारकर्मीसँगको भेटमा मन्त्री थापाले प्रधानमन्त्रीको उक्त कदमले देशलाई स्थायित्व दिने दाबी गरेका हुन्।

देशले ताजा जनमतको माग गरेको बताउँदै उनले जनमाझ चुनावमा जानुका विकल्प अब नरहेको बताए। ‘हामी मात्र होइन जनतामाझ चुनावमा जानुको अब कुनै विकल्प छैन,’ मन्त्री थापाले भने, ‘राजनीति शास्त्रको सिद्धान्त अनुसार सरकार वा प्रणाली संकटमा पर्‍यो भने जनतामाझ जानुपर्छ, अहिले हाम्रो सरकारले चालेको कदम अग्रगामी छ।’

थापाले देशी तथा विदेशी तत्वका कारण नेकपा एकतामा विभाजन भएको बताए। तर आउँने चुनावमा प्रचण्ड(माधव नेपाल पक्षसँग सहकार्य हुनसक्ने उनले बताए। ‘हाम्रो पार्टी विधिवित रूपमा फुटेको छैन, आगामी निर्वाचनमा हामी एक भएर जनतामाझ जान्छौं,’ मन्त्री थापाले भने।

प्रदेश तहमा सरकार फेरबदलको बारेमा कुनै छलफल नै नभएको पनि मन्त्री थापाले बताए। ‘यदि प्रधामन्त्री ओलीले पार्टी फुटेको घोषणा गर्नुभयो भने के हुन्छ, तर प्रदेश सरकारबारे अहिले नै केही भन्न सकिँदैन,’ उनले भने।