कांग्रेस केन्द्रीय समितिको बैठक आज, संसद् विघटनविरुद्ध रणनीति तय गरिने

कांग्रेस केन्द्रीय समितिको बैठक आज, संसद् विघटनविरुद्ध रणनीति तय गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसको रणनीतिबारेमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। गएको ७ गतेदेखि सुरु भएको बैठक सरकारविरुद्ध प्रदर्शन र मेलमिलाप दिवसको कार्यक्रममा केन्द्रीत हुने भन्दै ९ गतेसम्म बसेर स्थगित भएको थियो । त्यसैलाई निरन्तरता दिँदै बैठक आज पनि बस्न लागेको हो ।

एक सय २६ जना केन्द्रीय सदस्यमध्ये अहिलेसम्म २० जनाले आफ्नो धारणा राखेका छन् । प्रतिनिधि सभा विघटनपछि कांग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गरेको छ भने सरकारको कदमलाई असंवैधानिक भन्दै आएको छ । तर यसबारे पार्टीका शीर्ष नेताहरुबीच नै मत बाझिएको छ ।

सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनको विषय अदालतमा विचाराधीन भएकाले अहिले आन्दोलनमा जान नहुने बताउनुभएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध र आन्दोलनका कार्यक्रम गरी प्रतिकार गर्नुपर्ने बताउँदै आएको छ ।

यसअघिको केन्द्रीय समितिको बैठकले निर्णय गरेर देशभरका निर्वाचन क्षेत्रमा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको थियो । तर, कांग्रेसको दुई समूहको मत बाझिएकाले आउँदो रणनीति कस्तो बनाउने भन्ने अन्योल देखिएको छ ।