पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेल पनि छोडे प्रचण्डको साथ, उभिए ओलीका पक्षमा

पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेल पनि छोडे प्रचण्डको साथ, उभिए ओलीका पक्षमा


ओखलढुंगा । सत्तारूढ नेकपा औपचारिक विभाजनतर्फ लागिरहँदा पूर्वमाओवादी नेता तथा पहिलो संविधान सभा सदस्य बालकृष्ण ढुंगेल पार्टी अध्यक्ष केपी शर्मा ओलीका पक्षमा उभिएका छन्‌। ​माओवादी जनयुद्ध तथा नेपाली कम्युनिष्ट आन्दोलन र क्रान्तिलाई पुष्पकमल दाहाल प्रचण्डले धोका दिएका भन्दै ढुंगेल ओली पक्षमा खुलेका हुन्। जिल्ला र वरपरका क्षेत्रमा निकै लोकप्रिय रहेका नेता ढुंगेल ओलीका पक्षमा उभिएपछि प्रचण्ड पक्षलाई ठूलो धक्का लागेको विश्लेषण हुन थालेको छ।​

टारकेराबारी पोकलीका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग समेत खेपेका नेता ढुंगेल यो क्षेत्रमा ज्यूँदो शहीदका रूपमा चर्चित छन्‌। तत्कालीन माओवादीले जनयुद्ध सुरू गरेपछि उनी २०५३ सालमा घरमै बसिरहेका बेला प्रहरी घेरामा परेका थिए। त्यतिबेलै उनीलगायत पुष्कर गौतम र प्रल्हाद गौतमहरु ६ महिना जेल बसेका थिए। प्रल्हाद गौतमलाई पछि राज्यले हत्या गरेको थियो। 

जेलबाट छुटेपछि नेता ढुंगेलले ओखलढुंगाको पश्चिमी भेगमा माओवादी संगठन ब्यापक ढंगले विस्तार गरेका थिए। २०५५ सालमा श्रेष्ठको हत्या गरेको आरोपमा उनी जेल परेर छुटेका कारण पनि उनले पार्टीको कुनै जिम्मेवारी पाएका थिएनन्। सोही अभियोगमा सजाय पाएका कारण उनले प्रतिनिधिसभाको निर्वाचन लड्न समेत पाएनन्। श्रेष्ठको हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छैनन्।

यही आरोपमा सर्वोच्च अदालतले सजाय सुनाए पनि उनलाई पक्राउ नगरेको भन्दै प्रहरीविरुद्ध नै अवहेलनाको रिट दायर भएपछि प्रहरीले उनलाई २०७४ कार्तिकमा पक्राउ गरेको थियो। अदालतको फैसला अनुसार उनी १२ वर्ष ५ महिना २२ दिन जेल बस्नुपर्थ्यो। तर ‘असल चालचलन’ देखाएको भन्दै उनलाई त्यस अगावै छाडिएको थियो। ढुंगेललाई २०७५ को गणतन्त्र दिवसको अवसर पारेर माफी दिइएको थियो।