ओलीको चुनाव गराउने मनसाय पनि छैन – रामचन्द्र पौडेल

ओलीको चुनाव गराउने मनसाय पनि छैन – रामचन्द्र पौडेल

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शासक बन्नका लागि संसद भंग गरेको आरोप लगाएका छन् । ‘ओलीको चुनाव गराउने मनसाय पनि छैन, सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढाएका छन्,’ उनले भने ।

४५ औं राष्ट्रिय मेलमिलाप दिवस अवसरमा पोखरामा बिहीवार आयोजित कार्यक्रमा बोल्दै कांग्रेस वरिष्ठ नेता पौडेलले संसद भंग गरेर अन्तर्राष्ट्रिय खिचतानीको भुमरीमा देशलाई पार्न खोजेको आरोप लगाए । उनले जनताको थलो भंग गरेर देशलाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको अखडा बनाई अफगानिस्तानजस्तो बनाउन लागेको पनि बताए ।

‘संसद पुर्नस्थापना नै अहिलेको समस्या समाधान हो,’ उनले भने, ‘निर्वाचनमा गए कांग्रेसलाई फाइदा होला तर ७० वर्ष लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र धरापमा पर्छ । यसले हामीलाई शान्ति दिँदैन, त्यसैले प्रतिनिधिसभा पुर्नस्थापना अहिलेको आवश्यकता हो ।’ नेता पौडेलले संविधानको संरक्षण गरेमात्रै लोकतन्त्र बलियो हुने भएकाले संसद पुर्नस्थापना गर्नुपर्ने बताए ।

कांग्रेस केन्द्रीय समितिमा आफूले संसद पुनस्पनाबारे सर्वोच्चमा विचाराधीन रहेको मुद्दाका बारेमा यदि सर्वोच्चले संसद पुनस्स्थापना नहुने र ओली सरकारले पनि निर्वाचन नगरे के हुन्छ? भनी राखेको जिज्ञासामा कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीले चुनाव नगराए नेपालमा बस्न सक्छन् ? भनी प्रतिप्रश्न गरेको जानकारी दिए ।

कांग्रेस निर्वाचनबाट डराएको होइन, विधि र र प्रक्रियासँगै संविधानको रक्षाका लागि आफू पार्टीमा पनि लडेको र ओली सरकारसँग पनि लड्ने नेता पौडेलले बताए ।जनताले वामगठबन्धनलाई ५ वर्षसम्म सरकार चलाउन भनी म्यान्डेट दिएका हुन् तर पार्टीभित्रको विवाद मिलाउन नसकेर गैरकानुनी तवरले संसद भंग गरेर जनताको चाहना र इच्छामाथि कुठाराघात गर्न नपाइने बताए ।