कांग्रेस निर्वाचनमा एक्लै लड्छ: देउवा

कांग्रेस निर्वाचनमा एक्लै लड्छ: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकार विरुद्धको प्रदर्शनमा र निर्वाचनमा कांग्रेस एक्लै जाने बताएका छन्। संसद् विघटनविरुद्ध नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर-२ ले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।  

‘ओलीको सरकारले संसद् भंग गरेर निर्वाचनको मितिसमेत घोषणा गरिसकेको छ। कसैसँग मिलेर जाँदैनौं मिलेर गएको फल पाइसक्यौँ एक्लै जान्छौँ,’ उनले भने, ‘एक्लै जाँदा हाम्रो शक्तिको आँकलन हुन्छ। जनतालाई आफ्नो धारणा राख्न सजिलो हुन्छ। हाम्रो पार्टीले ओलीको अप्रजातान्त्रिक कदम हो भनेर घोषणा गरिसकेको छ। अलोकतन्त्रको निर्णयको खिलाप एक्लै प्रदर्शन गर्ने निर्णय गरेका छौँ।’ 

देउवाले संसद् विघटनको विषयमा अदालतको फैसला कुरिरहेको पनि बताए। कांग्रेस अदालतलाई थर्काउने, धम्क्याउने पार्टी नभएको भन्दै देउवाले अदालतको फैसला स्वीकार गर्ने पनि बताए।