देशैभर कांग्रेसको प्रदर्शन, कहाँ कुन नेताले सम्बोधन गर्दैछन् ?

देशैभर कांग्रेसको प्रदर्शन, कहाँ कुन नेताले सम्बोधन गर्दैछन् ?

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार देशभर प्रदर्शन गर्दैछ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते संसद् विघटन गरेपछि ६ गते नै पदाधिकारी बैठकबाट सो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवाद उन्मुख भनेको कांग्रेसले विरोध भने पहिलोपटक गर्न लागेको हो ।

पदाधिकारी बैठकमा असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख कदम ठहर गरेको कांग्रेस ७ गतेदेखि सुरु केन्द्रीय समितिमा भने चुनावमा जाने कि विरोधमा भन्ने विवादमा फसकेको थियो ।

सभापति शेरबहादुर देउवा पक्षले आन्दोलनलाई निकासहीन बन्न सक्ने भन्दै निर्वाचनकेन्द्रित कार्यक्रममा जानुपर्ने बताएपछि संस्थापनइतर पक्ष बिच्किएको थियो । उसले असंवैधानिक विज्ञप्तिमा भनेर नहुने भन्दै चर्को विरोध जनाएपछि विवादका विषयसमेत सार्वजनिक भएका थिए ।

सभापति शेरबहादुर देउवाले आइतबार वक्तव्य जारी गरी कांग्रेसले सर्वसम्मतिबाट आन्दोलनमा जाने निर्णय गरेको भन्दै उत्साहजनक सहभागिताका लागि अपिल गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम्विरुद्ध सहभागी हुन पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रप्रेमीलाई अपिलसमेत गरेका छन् ।

को–कहाँ ? 
कांग्रेसका केही नेताबाहेक अधिकांश नेताहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । सभापति देउवाले भक्तपुर, प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं–२ मा सम्बोधन गर्नेभएका छन् भने युवा नेताहरु गगन थापाले नेपालगन्ज र धनराज गुरुङले गोरखामा सम्बोधन गर्ने कार्यक्रम छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै निर्वाचन क्षेत्र पुगिसकेका छन् भने पूर्वमहामन्त्री प्रकाशमान सिंहले नयाँबानेश्वरमा आफ्नै क्षेत्रको सभालाई सम्बोधन गर्दै छन् ।