ओलीले चुनाव गराउछन् भन्ने विश्वास छैन : पौडेल

ओलीले चुनाव गराउछन् भन्ने विश्वास छैन : पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कामचलाउ बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लंघन गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार ८ मन्त्री र एक राज्यमन्त्री थपेका थिए । त्यसको विरोध गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले शनिबार विज्ञप्ति जारी गरेर विरोध गरेका छन् ।

'प्रधानमन्त्री केपी शर्मा ओलीको संविधानवाद र लोकतन्त्र उपर विश्वास रहेको देखिएन । उहाँले हालै लगातार चालेका तीन वटै कदम संविधानको मर्म र भावना विपरीत छन् । अध्यादेशद्वारा संवैधानिक परिषद्को ऐन संशोधन गरेर कार्यकारिणीलाई स्वेच्छाचारी बन्न रोक्नुपर्ने आयोगहरू आफू अनुकूल बनाउने लुकीचोरी काम गर्नुभयो,' पौडेलले विज्ञप्तिमा भनेका छन्, 'संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिँदै नदिएको अधिकार प्रयोग गरेर लोकतन्त्रको आत्मामा प्रहार गर्नुभयो । हिजो फेरि कामचलाउ मन्त्रिमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लघन गर्नुभयो ।'

प्रधानमन्त्री ओलीले घोषणा गरेको निर्वाचन हुनेमा पौडेलले आशंका व्यक्त गरेका छन् । प्रधानमन्त्रीका कदमले नै निर्वाचन हुनेमा विश्वास नरहेको भन्दै उनले अदालतबाट आस रहेको उल्लेख गरेका छन् ।

संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध प्रतिपक्षी कांग्रेसले देशभर जनप्रदर्शन गर्न लागेको भन्दै त्यसमा सहभागिता जनाउन पौडेलले कार्यकर्ताहरूलाई अनुरोध गरेका छन् ।

छुटाउनुभयो कि ?