बालाजु सडक पीडितसँग राज्यमन्त्री मानन्धरले अन्तरक्रिया गर्दै

बालाजु सडक पीडितसँग राज्यमन्त्री मानन्धरले अन्तरक्रिया गर्दै

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बालाजु सडक पीडितसँग आज अन्तरक्रिया गर्ने भएका छन् ।  बालाजु बाइपास सडक विस्तारका क्रममा विस्थापित भएकाहरुले  त्यस क्षेत्रमा पुनर्स्थापनाको मागसहित विरोध प्रदर्शन गर्दै आएका छन् । 

सडक विस्तारका क्रममा एकतर्फी रुपमा मात्रै घरहरु भत्काइएपछि विस्थापित भएका स्थानीयलाई न्याय दिन माग गर्दै उपत्यका सडक विस्तार पीडित संघर्ष समितिको आयोजनामा विरोध प्रदर्शन भएको हो।

सडक विस्तारका क्रममा बाइसधारा(बाइपास जोड्ने सडकको बायाँपट्टिका घरहरु सबै भत्काए पनि सर्वोच्च अदालतमा परेको मुद्दाका कारण दुई वटा घर पूर्णरुपमा भत्काइएको थिएन। त्यसकारण करिब २०० मिटर सडक निर्माण हुन सकेको थिएन।

सर्वोच्चले हाल सडक विस्तारको कार्य रोक्न भनेर आदेश दिए पनि केही हप्ताअघिमात्रै त्यहाँ बाँकी रहेका दुई घर भत्काइएको पीडित बताउँछन्। त्यसैको विरोधस्वरुप सडक विस्तार पीडितहरुले दैनिक रुपमा बाइपासमा धर्ना दिँदै आइरहेका थिए।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको आदेशमा आफूहरुलाई विस्थापित गरिएको आरोप पीडितहरुले लगाएपछि उनले आज अन्तरक्रिया गर्ने तयारी गरेका हुन् ।