बालुवाटारबाट कस्ले फैलायो ‘प्रचण्ड ब्याक’ भएको झुटो हल्ला ?

बालुवाटारबाट कस्ले फैलायो ‘प्रचण्ड ब्याक’ भएको झुटो हल्ला ?

काठमाडौं । बुधबार बालुवाटारमा तोकिएको समयभन्दा केही अबेर शुरु भएको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थिति र त्यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बैठक हल बाहिर निस्केर महासचिव विष्णु पौडेल र ईश्वर पोखरेलले गरेको कुराकानीलाई लिएर धेरैले आशंका व्यक्त गरेका छन् ।

नभन्दै हलभित्र छिरेपछि प्रचण्डले बैठक शुभारम्भ गर्दै प्रधानमन्त्री तथा अर्का अध्यक्षको अनुपस्थितिमा सचिवालयको बैठक केही दिन पछाडि सार्ने प्रस्ताव गरेपछि बालुवाटारबाटै एकथरीले बाहिर एकाएक हल्ला फिँजाइदिए ‘प्रचण्ड ब्याक भए’ भनेर ।

तर, बैठकमा उपस्थित अन्य वरिष्ठ नेता तथा सदस्यहरूले बैठकको अध्यक्षता गरिरहेका कार्यकारी अध्यक्षले वस्तुस्थितिको बारेमा बताएपछि सबैको सहमतिमा २० गते शनिबारसम्मको लागि सचिवालय बैठक स्थगित गरिएको बताएका छन् ।

बैठक एक हप्ता धकेल्ने माग आउँदा दाहालले आफूहरूसँगको सल्लाहमा तीन दिन पछाडि सारेको उनीहरूले बताएका छन् । प्रधानमन्त्री ओलीलाई जोगाउनको लागि खुमलटार निकटहरू नै अग्रसर भएको भन्ने समाचार आधारहीन भएको पनि उनीहरूले बताएको जनआस्थाले लेखेको छ ।

मंसिर १८ गतेको लागि बोलाइएको स्थायी समितिको बैठक अब २१ गते आइतबार सरेको छ । स्थायी समिति सदस्यद्वय रघुजी पन्त र सुरेन्द्र पाण्डे स्वास्थ्यलाभ गरिरहेकाले पनि स्थायी समितिको बैठक केही दिन पछाडि सार्नुपर्ने अवस्था थियो ।

अब सचिवालयको बैठक शनिबार, भोलिपल्ट स्थायी समिति र पूर्व निर्धारित २५ गतेको केन्द्रीय समितिको बैठक यथावत रहेको बताइएको छ ।