पशुपतिमा जडान गरियो दाउराबाट शव जलाउने मेसिन

पशुपतिमा जडान गरियो दाउराबाट शव जलाउने मेसिन

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा दाउराबाट शव जलाउन सक्ने मेसिन जडान भएको छ।​ एभरेष्ट बैंक लिमिटेडले निर्माण गरेको वातावरण मैत्री र प्रदुशणरहित शवदाह गृह आजदेखि सञ्चालनमा आएको हो। आज बैंकले एक औपचारिक कार्यक्रम आयोजना गरी उक्त शवदाह गृह पुशपती क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ। 

यससँगै आजदेखि उक्त शवदाह गृहलाई सञ्चालनमा ल्याइएको छ। हस्तान्तरण कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दाउराको खपत कम हुने र वातावरण प्रदूषणलाई पनि कमगर्ने भएकाले आधुनिक शवदाह गृह पशुपती क्षेत्रका लागि महत्वपूर्ण हुने बताए। 

आधुनिक शवदाह गृहले हिन्दुहरुको मृत्यु संस्कारलाई जोगाई राख्ने र वातावरणमा समेत कम असर पार्ने विश्वास मन्त्री भट्टराईको छ।  बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करिब ६० लाख रुपैयाँमा आधुनिक शवदाह गृह निर्माण गरिएको बताएको छ। 

बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले आधुनिक शवदाह गृहमा ६० प्रतिशत दाउरा कम लाग्ने बताए। यस्तै एउटा शव जलाउन बढीमा १ घण्टा १५ मिनेट लाग्ने छ।