कांग्रेस केन्द्रीय समिति बैठक अघि देउवाले बोलाए शीर्ष नेताको बैठक

कांग्रेस केन्द्रीय समिति बैठक अघि देउवाले बोलाए शीर्ष नेताको बैठक

काठमाडौं । पार्टीभित्र देखिएको बिवाद समाधानको प्रयास स्वरुप कांग्रेस सभापति शेरबहादुर देउवाले सोमवारका लागि शीर्ष नेताको बैठक बोलाएका छन् ।  वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका शीर्ष नेतासँग आशंका निवारण गरेर महाधिवेशनको माहौल बनाउन सभापति देउवाले शीर्ष नेताको बैठक बोलाएको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

महाधिवेशनको विषयमा छलफल गर्न कांग्रेसले कात्तिक २१ गते शुक्रवारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । यसअघि असोज १९ देखि बस्ने भनिएको बैठक केही केन्द्रीय सदस्यलाई कारोना संक्रमण देखिएपछि रोकिएको थियो । 

कांग्रेसले २०७७ फागुन ७ देखि १० गतेसम्म १४ औं महाधिवेशन गर्ने यसअघि नै निर्णय गरेपनि अन्य कार्यतालिका प्रभावित भएका छन् । केन्द्रीय समिति बैठकमा महाधिवेशनको मिति सार्न प्रस्ताव हुने सम्भावना रहेको देउवा पक्षका एक केन्द्रीय सदस्यले बताए ।