गोकुल बाँस्कोटामाथि अनुसन्धान गर्न प्रमाण नपुगेको अख्तियारको भनाई

गोकुल बाँस्कोटामाथि अनुसन्धान गर्न प्रमाण नपुगेको अख्तियारको भनाई

काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड घुसको डिल गरेको आरोप लागेका पूर्वसञ्चारमन्त्री एवं नेकपा सांसद गोकुल बाँस्कोटामाथि  थप छानविन गर्न प्रमाण प्राप्त नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। संसदको सार्वजनिक लेखा समितिलाई पठाएको पत्रमा अख्तियारले बाँस्कोटालाई उन्मुक्ति दिन लागेको संकेत गरेको छ । उक्त प्रकरणमा संलग्न भनिएका विजयप्रसाद मिश्रको अडियो र भिडियो पूर्ण प्राप्त नहुँदा थप अनुसन्धान हुन नसेकको भनिएको छ। 

घुस डिल गरेकोबारे बाँस्कोटासँग बयान लिइएको र मिश्रलाई सम्पर्कमा आउन पटक–पटक ताकेता गरी सार्वजनिक सूचनासमेत जारी गरिएको जिकिर अख्तियारले गरेको छ। लेखा समितिले केही हप्ताअघि समितिबाट थप छानबिन गर्नु भनि पठाएका विषयहरुमा  जवाफ माग गर्दै पत्र लेखेको थियो। 

उक्त पत्रको जवाफमा अख्तियारले समिति बनाएर अनुसन्धान सुरु भएको जवाफ दिएको हो। स्वीस कम्पनीका स्थानीय एजेन्ट भनिएका विजयप्रसाद मिश्रलाई अख्तियारमा उपस्थित भएर प्रमाणहरु पेश गर्न भनिएको अख्तियारको जिकीर छ। स्वीस कम्पनीका एजेन्टसँग गरिएको कुराकानीका विषयमा मन्त्री र सुरक्षा मुद्रणमा संलग्न पदाधिकारीसँग  अनुसन्धानका लागि आवश्यक जानकारी लिइएको अख्तियारले समितिलाई पठाएको पत्रमा उल्लेख  छ।

मन्त्री बाँस्कोटा  र मिश्रका बीचमा भएको संवादको अडियो र भिडियो प्रारम्भिक परीक्षण गरिएको आयोगले जनाएको छ। थप अनुसन्धानका लागि यसको वास्तविक (ओर्जिनल) कन्टेन्टसहितको विवरण आवश्यक देखिएकाले पेश गर्न मिश्रका नाममा सूचना जारी गरिएको आयोगले जनाएको छ। मिश्र अख्तियारमा उपस्थित भएपछि अनुसन्धान अघि बढाउने आयोगले जनाएको छ।