कांग्रेस केन्द्रीय समिति बैठक असोज २४ मा मात्र बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक असोज २४ मा मात्र बस्ने

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। सात जना केन्द्रीय सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक असोज २४ गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले असोज २२ गतेसम्म केन्द्रीय कार्यालय बन्द गरेको छ। ‘केन्द्रीय समिति बैठक असोज २४ गते २ बजेका लागि बोलाइएको छ,’ शर्माले भने। काठमाडौंमा गरिएको पिसिआर परीक्षणमा पाँच जना केन्द्रीय सदस्यलाई र उपत्यकाबाहिर गरिएको परीक्षणमा थप दुई जना केन्द्रीय सदस्यलाई कोरोना पुष्टि भएको शर्माले बताए।

केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, रमेश रिजाल, अजय चौरासिया, शम्भूलाल श्रेष्ठ, कल्पना चौधरी र जंगीलाल रायलाई कोरोना देखिएको छ।

कांग्रेसले केन्द्रीय समिति बैठकका लागि केन्द्रीय सदस्यसहित २५० जनाको गत असोज १५ मा पिसिआर परीक्षणका लागि टेकुमा स्वाब दिएको थियो। यीमध्ये केन्द्रीय सदस्य, स्वकीय सचिव, सुरक्षाकर्मी, चालक गरी २० जनामा कोरोना पोजेटिभ आएको छ।