अर्जुन कपुरलाई कोरोना, रोकियो छायांकन

अर्जुन कपुरलाई कोरोना, रोकियो छायांकन

बलिउड अभिनेता अर्जुन कपुरले आफूलाई कोरोना संक्रमण देखिएको सामाजिक सञ्जालमार्फत् जनाएका छन् । उनले इन्स्टाग्राममा लेखेका छन्, 'म ठीक छु र मेरो लक्षण एसिम्प्टोम्याटिक (बिना लक्षण) हो । मैले घरमा आफूलाई क्वारेन्टाइन गरेको छु । म हेल्थ अपडेट दिँदै गर्नेछु ।' उनको कोरोना रिपोर्ट आजै आएको हो ।

अर्जुन कपुर, रकुल प्रीतसँग निखिल आडवाणीले निर्माण गरिरहेको चलचित्रको फिल्म सिटीमा छायांकन गरिरहेका थिए । त्यहाँ भारत-पाकिस्तानको सीमावर्ती क्षेत्रको सेट बनाइएको छ । दुई देश विभाजनको ब्याकड्रपको लभस्टोरीमा चलचित्र आधारित छ । अर्जुन र रकुलले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । तर, अर्जुनलाई कोरोना देखिएपछि चलचित्रको छायांकन रोकिएको छ ।

कोरोना कहरबीच सरकारले जारी गरेको गाइडलाइन अनुसार अहिले बलिउड कलाकारहरुले चलचित्रको छायांकन गरिरहेका छन् । यसमा अक्षय कुमार, अर्जुन कपूर, रकुल प्रीत, गुरमीत चौधरी आदि छन् । त्यस्तै, अजय देवगन आफ्नो चलचित्र ‘भुज’ को पोस्‍ट प्रोडक्‍शनमा व्यस्त छन् । कोरोना देखिएपछि अर्जुनको नयाँ चलचित्रको छायांकन भने अनिश्चितकालका लागि रोकिएको छ ।