प्रधानमन्त्री ओलीले ईश्वर पोखरेलका सम्धीको यसरी गरे बखान

प्रधानमन्त्री ओलीले ईश्वर पोखरेलका सम्धीको यसरी गरे बखान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त प्रा.डा. उपेन्द्र कोइरालाको बचाउ गरेका छन् ।

प्राइम टेलिभिजनका लागि ऋषि धमलालाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले प्रा.डा. कोइरालालाई क्षमताकै आधारमा नियुक्ति दिइएको दाबी गरेका हुन् ।

कोइराला उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको सम्धी भएकाले नियुक्ति पाएको भनेर चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले ईश्वर पोखरेलको नाम जोडिएकोमा आश्चर्य व्यक्त गरे ।

के भने प्रधानमन्त्री ओलीले ?

'उहाँको सम्धीचाहिँ उहिलै पीएचडी गरेर, प्रोफेसर भएर, भीसी हुन पुग्नुभएको थियो । सम्धी हुनुभन्दा धेरै अघि पीएचडी गर्नुभएको । सम्धी भएपछि पीएचडी गर्‍या हो र ? सानै उमेरमा पीएचडी गर्नेमध्ये उहाँ पर्नुहुन्छ । उहाँ कम्पिटिसन लडेर आउनुभयो होला, अहिले ईश्वर पोखरेलसँग जोड्नुपर्ने कारण के होला ?'

प्रधानमन्त्री ओलीले नियुक्तिमा नातावादलाई प्राथमिकता दिएको भन्ने आरोपको पनि खण्डन गरे ।

उनले आफ्नो नाताको कसलाई नियुक्ति दिइएको छ, त्यो देखाउन चुनौती समेत दिए ।