रियाले भनिन्– सुशान्त मानसिक रोगी थिए, उनी मर्नुमा मेरो कुनै हात छैन

रियाले भनिन्– सुशान्त मानसिक रोगी थिए, उनी मर्नुमा मेरो कुनै हात छैन

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको ‘मृत्यु प्रकरण’मा सबैभन्दा धेरै चासो र आरोपको केन्द्रमा रहेकी उनकी पूर्वप्रेमिका तथा अभिनेत्री रिया चक्रवर्तीले मृतक सुशान्तका विषयमा मुख खोलेकी छिन् । उनले ‘आफूले सुशान्तको पैसा नचलाएको’ दाबीमात्र गरेकी छैनन्, ‘सुशान्त डिप्रेसनको बिरामी रहेको र उनले यसको औषधि प्रयोग गर्ने गरेको’ समेत बताएकी छिन्। 

भारतीय टेलिभिज ‘आजतक’सँग अभिनेता सुशान्त र आफ्नो सम्बन्धका विषयमा बोल्दै रियाले भनेकी छिन्, ‘सुशान्तको पैसामा म बाँचेकी छु भन्ने आरोपमा कुनै सत्यता छैन।’ सुशान्तको मृत्युपछि राजपूत परिवार र कतिपय सोसल मिडिया प्रयोगकर्ताहरुले रियाको भूमिकाप्रति शन्देह प्रकट गर्दै आइरहेका छन्। यतिसम्म कि, सुशान्त आत्महत्यामा उनको र पछिल्ला दिनमा उनीनिकट बलिउडकर्मी महेश भट्टको हात रहेको आशंक व्याप्त पारिएको छ।

अभिनेत्री रियाले भने आफू र सुशान्त एउटा युरोप यात्रामा रहँदा सुशान्त डिप्रेसनको विरामी रहेको थाहा पाएको बताइन्। उनले भनिन्, ‘यात्राकै क्रममा सुशान्तले भने, मलाई हवाइ उडानसँग डरलाग्छ। त्यो उनले मोडाफिनिल नामको औषधी खाए जुन औषधी उनले सधैं साथमा राख्थे।’ यात्राका क्रममा आफूहरु पेरिस पुगेको र त्यहाँ तीन दिनसम्म सुशान्त कोठाबाट बाहिर ननिस्केको रियाको भनाइ छ।

‘यात्राका क्रममा उनी युरोप भ्रमणका लागि अत्यन्त्यै उत्साही थिए तर तीन दिन उनी कोठाबाहिर नै निस्केनन्’ अभिनेत्री रियाले आफ्नो अन्तरवार्तामा भनिन्, ‘उनी स्विट्जरल्याण्डमा चाहिँ अति खुशी थिए तर पछि इटली पुगेपछि फेरि पेरिसमा झैं उदास र एकान्तप्रेमी बने।’ सुशान्तले त्यही युरोप यात्राकै क्रममा आफूलाई डिप्रेसन रहेको जानकारी दिएको दाबी रियाले गरेकी छिन्। 

उनले सुशान्तलाई आत्महत्याका लागि कसैले उक्साएको या दवाव दिएको भन्ने कुरामा पनि कुनै ‘दम’ नरहेको जिकिर गरेकी छिन्। यद्यपी यो प्रकरणबारे अहिले सीबीआइले जाँच गरिरहेको छ।