प्रधानमन्त्री ओली र प्रचण्डबीच वार्ता शुरु, झलनाथ पनि सहभागि

प्रधानमन्त्री ओली र प्रचण्डबीच वार्ता शुरु, झलनाथ पनि सहभागि

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल शुरु भएको छ ।  छलफलमा वरिष्ट नेता झलनाथ खनाल पनि सहभागि छन् । साउन १३ गतेपछि दुई अध्यक्षबीच भेटवार्ता हुन सकेको थिएन । 

साउन १३ को स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग छलफल गरेर पार्टीलाई निकास दिने जिम्मेवारी पाएका अध्यक्ष प्रचण्डले छलफलका लागि नेता खनाललाई पनि साथमा लगेका हुन् ।प्रधानमन्त्री र पार्टीको अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्छ भनि कुरा स्थायी कमिटी बैठकमा उठेपछि पार्टीमा विवाद उत्पन्न भएको छ । अध्यक्ष अ‍ोलीले भने आफू कुनै पनि हालतमा राजीनामा नदिने बरु ‘अर्ली’ महाधिवेशन गर्ने र महाधिवेशनबाट नेतृत्व चयन गर्ने प्रस्ताव गरेका छन् ।

साउन १३ गते बस्ने भनिएको स्थायी कमिटीको बैठक प्रधानमन्त्री ओलीले एकतर्फीरुपमा स्थगित गरेका थिए । तर अध्यक्ष प्रचण्डले सोही दिन आफ्नो अध्यक्षतामा बैठक बसाएका थिए । सो बैठकमा २९ जना स्थायी कमिटीका सदस्यको उपस्थिति थियो । प्रधानमन्त्री ओलीले एकतर्फीरुपमा स्थायी कमिटीको बैठक स्थगित गर्नु गलत भएको ठहर बैठकले गरेको थियो ।

सोही दिन पार्टीका उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव दुवै अध्यक्षलाई सम्बोधन गरेर सार्वजनिक गरेका थिए । सो प्रस्ताव प्रधानमन्त्री ओलीको पक्षमा थियो । अध्यक्ष प्रचण्डको गुटमा रहेका वामदेव गौतम एकाएक ओलीलाई सहयोग पुग्ने गरी ल्याएको प्रस्तावले अध्यक्ष प्रचण्ड रक्षात्मक अवस्थामा पुगेका छन् । 

आजको वार्तमा ओलीले सचिवालय बैठकबाट विवाद समाधान गर्नुपर्ने प्रस्ताव राख्ने तयारीमा छन् भने प्रचण्ड भने स्थायी कमिटी या केन्द्रीय कमिटीबाट विवाद समाधान गर्नुपर्ने प्रस्ताव राख्ने तयारीमा छन् ।