कोरोना भुसको आगोझै फैलियो, सरकार भने मस्त निन्द्रमा छः गगन थापा

कोरोना भुसको आगोझै फैलियो, सरकार भने मस्त निन्द्रमा छः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सरकारलाई खबरदारी गर्न आम नागरिकलाई आह्वान गरेका छन् । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिए पनि सरकारले लापर्वाही गरेको भन्दै उनले सरकारले सुन्नेगरी खबरदारी गर्न आह्वान गरेका हुन्।

सामाजिक सञ्जालहरूमार्फत् उनले बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी सबैले 'सरकार अब अति भो' भन्नु पर्ने बेला आएको बताए। नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको विवादमा अल्झेको, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल आफूले राम्रो काम गरेको छु भन्दै आफैं भजन गाउदै हिँडेको टिप्पणी गरे।

मुख्य जिम्मेवार पदाधिकारीहरूले नै संक्रमण नियन्त्रणको विषय प्राथमिकतामा नपरेकाले संक्रमणले नराम्रो रुप लिनसक्ने भन्दै नेता थापाले चिन्ता व्यक्त गरे । उनले कोरोनाको संक्रमण भुसको आगो झै फैलिए पनि सरकारले परीक्षणको दायरा नबढाएको र अस्पताल केन्द्रित तयारी नगरेको भन्दै उनले आपत्ति जनाए । थापाले ट्विटरमा लेखेका छन्, 'प्रधानमन्त्री ज्यू पार्टीको खिचातानीमा व्यस्त ! स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त ! भुसको आगोझै संक्रमण फैलिएको छ, सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ। बालुवाटारको पर्खालभित्र निद्रामा मस्त, सरकारलाई देख्ने र सुन्ने गरी भनौँ- सरकार अब अति भो!'