अलबिदा कुमकुम !

अलबिदा कुमकुम !

सन् ५०, ६० र ७० को दशकको हिन्दी सिनेमा जगतकी भावप्रवण कलाकार तथा कुशल नृत्याङ्गना कुमकुमको ८६ वर्षको उमेरमा बान्द्रा, मुम्बईस्थित आफ्नै निवासमा हिजो निधन भयो । कुमकुम त्यस कालखण्डमा हिन्दी सिनेमाको संसारमा स्थापित र प्रशंसित ती पाँच/सात अभिनेत्रीहरूमध्ये एक थिइन् जसको ग्ल्यामर, नृत्य र अभिनयको जादूमा सारा हिन्दुस्थान लट्ठिएको थियो । र, लट्ठिएका थियौँ हामी नेपालीहरू पनि जसका लागि सिनेमा भन्नू नै हिन्दी सिनेमा थियो ।

हालका वर्षहरूमा मुम्बई चलचित्र जगतले आफ्नो समयका नामी अभिनेत्रीहरू: श्यामा, नन्दा, निम्मी, शकीला, मनोरमा, शम्मी आन्टी आदिलाई गुमायो । कुमकुम ती दिवङ्गत कलाकारहरूको पंक्तिमा पछिल्ली भएकी छन् । अब हाम्राबीच श्वेत-श्याम चलचित्रको प्राकृत सौन्दर्य-छटा समेतको प्रतिनिधित्व गर्ने सुन्दर भारतीय अभिनेत्रीमध्ये कामिनी कौशल, वहिदा रहमान, वैजयन्ती माला, आशा पारेख, माला सिन्हा, अमिता र शुभा खोटे मात्र छन् जस्तो लाग्छ ।

बिहारको सानो गाउँ हुसैनावादको नवाबकी छोरी कुमकुमको खास नाम जेबुन्निशा खातुन हो । महान् नृत्यगुरु शम्भू महाराजको शिष्यत्वमा कत्थक नृत्य सिकेर त्यसमा पारङ्गत भएकी कुमकुमलाई फिल्म जगत् मा प्रविष्टि दिएका थिए प्रख्यात निर्देशक गुरुदत्त पादुकोणले सन् १९५४ को फिल्म 'आरपार' बाट । गुरुदत्त र देवानन्दको सहकार्यमा बनेका 'मिस्टर एण्ड मिसेस ५५' र 'सीआईडी' मा पनि कुमकुमका नृत्य आइटम छन् । पछि कुमकुमको कमेडियन जोनीवाकर र नायक तथा गायक किशोर कुमारसँग पनि लोकप्रिय फिल्मी जोडी बनेको थियो । किशोर कुमारको फिल्म 'मिस्टर एक्स इन बम्बे' की हिरोइन नै थिइन् कुमकुम ।

कुमकुमले फिल्म 'कोहेनूर' मा दिलिपकुमारले गाएको गीत 'मधुवन में राधिका नाचे रे...' मा गरेको नृत्यलाई क्लासिक मानिएको छ । त्यस नृत्यको तुलना वैजयन्ती मालाले आम्रपाली र नयाँ दौरमा गरेको नृत्यसँग गर्न रुचाउँछन् पारखीहरू ।

पछिल्लो समयमा प्रख्यात निर्माता निर्देशक रामानन्द सागरले कुमकुमलाई अभिभावकत्व दिएका थिए । उनका हरेक फिल्ममा कुमकुमका लागि भूमिका खोजिएको देखिन्छ । उनले पनि सागरले गरेको विश्वासलाई कुशलतासँग नै जोगाएकी थिइन् । उनमा प्रचूर प्रतिभा थियो । अनिन्द्य सुन्दरी भन्न नसकिए पनि जेबुन्निसा खातुन राम्री नै थिइन् । उनको सौन्दर्य उनका भावप्रवण आँखामा समेटिएको देखिन्थ्यो । कुमकुमले भारतको पहिलो भोजपुरी फिल्म 'गंगा मैया तोहे पियरी चढाइबो' मा नायिकाको भूमिकामा खेलेकी थिइन् । त्यो ब्लकबस्टर साबित भएको थियो । कुमकुमका प्रमुख फिल्महरू 'आरपार', 'मदर इण्डिया', 'सन अफ इण्डिया', 'प्यासा', 'चार दिल चार राहें', 'गंगा की लहरें', 'कोहेनूर', 'मि.एक्स इन् बम्बे', 'आँखे', 'ललकार', 'जलती वदन' आदि थिए । सन् १९७३ को 'एक कुवाँरी एक कुवाँरा' कुमकुमको अन्तिम फिल्म थियो ।

अश्रुपूरित बिदाइ प्रिय अभिनेत्री कुमकुम ! अल्लाह आपको जन्नत नशीव करे !

मेरो हार्दिक श्रद्धाञ्जलि छ जेबुन्निशा खातुन !